काठमाडौं- अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पले आफ्नो दोस्रो कार्यकाल सुरु गरेयता १ लाख भन्दा बढी भिसा खारेज भएको छ ।
यी भिसा गत वर्ष २०२५ मा रद्द गरिएका हुन्। जसमा लगभग ८ हजार विद्यार्थी अनुमतिपत्र पनि समावेश थिए।
अमेरिकी विदेश विभागका अनुसार सीमा सुरक्षा र सार्वजनिक सुरक्षालाई सुदृढ पार्ने अभियानका रुपमा यो अहिलेसम्मकै सबैभन्दा ठूलो कदम हो। अमेरिकी विदेश विभागका प्रमुख उपप्रवक्ता टमी पिगोटले यसलाई अमेरिकी नागरिकको सुरक्षा र अमेरिकी सार्वभौमसत्ता जोगाउन ट्रम्प प्रशासनले चालेको कदमका रुपमा उल्लेख गरे।
टमी पिगोटका अनुसार यो कारबाही विगतका वर्षहरुभन्दा धेरै कडा छ। आपराधिक गतिविधिका कारण अमेरिकी कानुनको घेरामा आउँदा अधिकांश भिसा रद्द भएको बताइएको छ । २०२४ को तुलनामा रद्द भिसाको सङ्ख्या १५० प्रतिशतले बढेको पनि देखिएको छ ।
अमेरिकी विदेश विभागको विज्ञप्तिमा भनिएको छ, ‘भिसा रद्द गरिएका विदेशी नागरिकमा आक्रमण, चोरी र मादक पदार्थ सेवन गरी गाडी चलाउने जस्ता विभिन्न आपराधिक अभियोगहरु थिए।’ ट्रम्पले सुरु गरेको नयाँ जाँच र अनुगमन प्रणालीका कारण भिसा रद्द गर्ने कार्यमा वृद्धि भएको हो।
प्रतिक्रिया