इरानसँग व्यापार गरिरहेका देशमाथि २५ प्रतिशत ट्रम्प ट्यारिफ

मंगलबार, २९ पुस २०८२, १४ : ४७

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानसँग व्यापारिक सम्बन्ध रहेका देशका सामानहरूमाथि २५ प्रतिशत ट्यारिफ लगाएको सोमवार बताएका छन्।

यो कदमले तेहरानमाथि दबाव सिर्जना गर्न सक्छ, जहाँ सरकारविरोधी प्रदर्शन तेस्रो हप्तामा प्रवेश गरेको छ।

ट्रम्पले आफूले घोषणा गरेको ट्यारिफ ‘तत्काल कार्यान्वयनमा गएको’ सामाजिक सञ्जालमा उल्लेख गरेका छन्।

सैनिक हस्तक्षेपको चेतावनी
तेहरानले प्रदर्शनकारीहरूको ज्यान लिने काम गरेमा सैनिक हस्तक्षेप गर्ने ट्रम्पले चेतावनी दिएपश्चात्‌ पछिल्लो ट्यारिफ घोषणा गरिएको हो।

ह्वाइट हाउसकी प्रवक्ता क्यारोलिन लीभिटले हवाई हमलासहितका सैनिक विकल्पहरू अझै ‘विचारमा रहेको’ सोमवार बताइन्।

‘इस्लामिक गणतन्त्र इरानसँग व्यापार गरिरहेका जुनसुकै देशले अमेरिकासँग सबै सामानमा २५ प्रतिशत ट्यारिफ तिर्नुपर्नेछ,’ ट्रम्पले ट्रूथ सोसलमा सोमवार लेखेका छन्।

यो ट्यारिफबाट कुनकुन देशका निर्यात सबैभन्दा बढी प्रभावित हुने छन् भन्नेबारे ह्वाइट हाउसले थप जानकारी साझा गरेको छैन।

प्रदर्शनले सर्वोच्च नेता खामेनेईको शासन अन्त्य हुनुपर्ने माग गरिरहेको छ
इरानी मुद्राको अवमूल्यनलाई लिएर देखिएको आक्रोशले डिसेम्बर महिनाको अन्त्यतिर प्रदर्शनहरू निम्त्यायो, जसले अहिले इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनेईको वैधतामाथि सङ्कट उत्पन्न गराएको छ।

महँगीविरुद्ध शुरू भएका प्रदर्शनहरूले अहिले खामेनेईको शासन अन्त्य हुनुपर्ने माग गरिरहेका छन्।

अमेरिकामा अवस्थित ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी (एचआरएएनए) ले इरानमा करिब ५०० प्रदर्शनकारीहरू र ४८ जना सुरक्षाकर्मीहरू मारिएका भनी आफूले पुष्टि गरेको जनाएको छ।

बीबीसीले मृतकको सङ्ख्या निकै बढी हुन सक्ने जनाएको छ। अरू हजारौँ व्यक्तिलाई गिरफ्तार गरिएको बताइएको छ।

यद्यपि इरान सरकारले गत बिहीवारबाट इन्टरनेट बन्द गराउँदा सूचना लिन र तिनको पुष्टि गर्न मुश्किल भइरहेको छ।

बीबीसी र अरू अधिकांश अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले इरान भित्रैबाट समाचार दिन सकिरहेका छैनन्।

अर्थतन्त्रमा गम्भीर असर
अमेरिकी राष्ट्रपति ट्रम्पले हस्तक्षेप गर्ने चेतावनी दिएका छन्। इरानी अधिकारीहरूले ूसहमतिका लागिू आग्रह गर्न आफूलाई फोन गरेको आइतवार उनले बताएका थिए। तर ‘बैठकअघि कदम चाल्नुपर्ने हुन सक्ने उनले उल्लेख गरेका थिए।

यसअघि इरानी संसद्‌का सभामुखले अमेरिकाले आक्रमण गरेमा सो क्षेत्रमा इजरेल र अमेरिकी सेना तथा तिनका पानीजहाज केन्द्रहरू आफूहरूको जायज निशाना बन्ने चेतावनी दिएका थिए।

इरानका राष्ट्रपति मसूद पेजेश्किआनले आफ्नो देशमा उत्पन्न तनावका लागि अमेरिका र इजरेलमाथि आरोप लगाउँदै आएका छन्।

इरानको परमाणु कार्यक्रमलाई लिएर लगाइएका अन्तर्राष्ट्रिय प्रतिबन्धहरूको गम्भीर असर उसको अर्थतन्त्रमा परेको छ। भ्रष्टाचार तथा सरकारले सही व्यवस्थापन गर्न नसक्दा पनि इरानको अर्थतन्त्र कमजोर भएको छ।

अमेरिकी डलरको तुलनामा इरानी रिआलको मूल्यमा अर्को व्यापक गिरावट आएपछि डिसेम्बर २८ तारिखमा पसलेहरूले आक्रोश पोख्न तेहरानका सडकमा निस्केका थिए।

गत वर्ष इरानको मुद्रा अवमूल्यन कीर्तिमान स्तरमा भएको पाइएको छ भने मुद्रास्फिति ४० प्रतिशतभन्दा बढीले भएको छ। फलस्वरूप खानेतेल र मासुजस्ता दैनिक उपभोग्य वस्तुहरू निकै महँगिएका छन्।

बीबीसी न्यूज नेपाली

मंगलबार, २९ पुस २०८२, १४ : ४७

प्रतिक्रिया