काठमाडौं- टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी अटो पार्ट्स प्रालिले ‘टाटा गुरु’ सुभाष शर्माको उपचारका लागि ‘सिप्रदी सहायता’ कार्यक्रममार्फत आर्थिक सहयोग प्रदान गरेको छ।
ललितपुरको सानेपा निवासी शर्मा गम्भीर स्नायु (न्युरोलोजिकल) समस्याका कारण काठमाडौंस्थित अन्नपूर्ण न्युरोलोजिकल इन्स्टिच्युट एण्ड एलाइड साइन्सेसमा उपचाररत छन्। चिकित्सकका अनुसार उनको स्वास्थ्य अवस्थाका कारण दीर्घकालीन उपचार आवश्यक पर्ने भएकाले उपचार खर्च व्यवस्थापनमा परिवारलाई आर्थिक चुनौती देखिएको छ।
अटोमोबाइल क्षेत्रमा लामो समयदेखि योगदान दिँदै आएका शर्माको उपचारमा सहयोग गर्दै सिप्रदी अटो पार्ट्सले सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता व्यक्त गरेको छ। कम्पनीले सहकर्मीप्रतिको जिम्मेवारी र मानवीय संवेदनालाई आत्मसात् गर्दै प्रारम्भिक आर्थिक सहयोग उपलब्ध गराइसकेको जनाएको छ।
कम्पनीले शर्माको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै यस कठिन घडीमा अन्य सहयोगी हातहरू, संघ–संस्था तथा सरोकारवाला निकायहरूलाई पनि मानवीय आधारमा यथोचित सहयोग गर्न अपिल गरेको छ।
प्रतिक्रिया