रिलायन्स फाइनान्सको १६ औं साधारणसभा सम्पन्न

विहीबार, ०१ माघ २०८२, ११ : १९

काठमाडौं- रिलायन्स फाइनान्स लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा पुस ३० गते काठमाडौंको बत्तीसपुतलीस्थित अनुपम फुड ल्याण्ड एण्ड व्याङ्क्वेट प्रालिमा भएको हो ।

संस्थाका अध्यक्ष कुश प्रसाद मल्लीले पानसमा दीप प्रज्वलन गरी सभाको उद्घाटन गरे । साधारण सभामा आ.व. २०८१/८२ को १६ औं वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणलगायतका वित्तीय विवरणहरू प्रस्तुत गरिएको छ ।

सभाले बाह्य लेखापरीक्षकको नियुक्ति गर्ने प्रस्ताव पारित गर्नुका साथै वित्तीय संस्था एक आपसमा गाभ्ने तथा गाभिने (मर्जर) वा प्राप्ति गर्ने सम्बन्धमा सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव सर्वसम्मत रूपमा अनुमोदन गरेको छ ।

संस्थाका अनुसार विगत वर्षहरूमा वित्तीय विवरण तथा व्यवसायमा उतारचढाव देखिए पनि चालु आर्थिक वर्षमा सुधार देखिएको छ । गत आर्थिक वर्षको तुलनामा संस्थाको निक्षेप १.०३ प्रतिशतले वृद्धि भई ८६४ करोड रुपैयाँ पुगेको छ भने कर्जा प्रवाह ८.७० प्रतिशतले बढेर ७०९ करोड रुपैयाँ पुगेको छ । त्यसैगरी, संस्थाको मुनाफा ६१ प्रतिशतले वृद्धि भई ६ करोड ८६ लाख रुपैयाँ पुगेको जानकारी दिइएको छ । कर्जा असुलीको कार्यलाई योजनाबद्ध र प्रभावकारी ढंगले अघि बढाइएको पनि संस्थाले जनाएको छ ।

साधारण सभाका अवसरमा संस्थामा १० वर्षभन्दा बढी समय सञ्चालकको रूपमा योगदान पुर्‍याएका पूर्व सञ्चालक विष्णुमान जोशीलाई कदर पत्रसहित सम्मान गरिएको थियो । साथै, संस्थामा १० वर्षभन्दा बढी सेवा अवधि पूरा गरेका कर्मचारीहरूलाई पनि सम्मान गरिएको छ ।

 
विहीबार, ०१ माघ २०८२, ११ : १९

प्रतिक्रिया