महासचिव पोखरेलद्वारा घोराही- तुलसीपुर चारलेन सडकको  अनुगमन

शुक्रबार, ०२ माघ २०८२, १३ : २९

  काठमाडौं - पटक पटक समय थप्दा पनि निर्माण हुन नसकेको घोराही - तुलसीपुर चारलेन सडक निर्माणको अवस्थाबारे जानकारी लिन नेकपा (एमाले) का महासचिव शंकर पोखरेल सडक निर्माण स्थलमै पुगेका छन्। यस क्षेत्रको बहुप्रतिष्ठित योजनाका रूपमा रहेको चारलेन सडक निर्माण स्थलमै पुगेर महासचिव पोखरेलले सडक निर्माणको प्रगतिका विषयमा जानकारी लिएका हुन्।

डिभिजन सडक कार्यालय दाङका प्रमुख दिपेन्द्रबहादुर विष्टले महासचिव पोखरेलले सडक निर्माणमा केही समस्या भए सहजीकरण गर्न तयार रहेको बताएको र निर्धारित समयमै सडक निर्माण सम्पन्न गर्न आग्रह गरेको जानकारी दिए। उनले कार्यालयको तर्फबाट अहिलेसम्मको कामको प्रगतिबारे महासचिवलाई जानकारी गराइएको बताए।

दुई अर्ब ८८ करोड ८२ लाख ३९ हजार ७ सय ८० रुपैयाँ २३ पैसा (भ्याटबाहेक) अनुमानित लागतमा निर्माण भइरहेको यो सडक तीन वर्षभित्र सम्पन्न गर्ने गरी श्री दिवा–बन्दन भगवती जे.भी. ले निर्माणको जिम्मा लिएको विष्टले जानकारी दिए। उनका अनुसार सडक ३० मिटर चौडा हुनेछ।

२०८२ असार २४ गते ठेक्का सम्झौता भएको उक्त सडकलाई निर्धारित समयमै सम्पन्न गर्ने लक्ष्यसहित तीव्र गतिमा काम भइरहेको भन्दै कार्यालय प्रमुख विष्टले हाल माटो पटान, सडक संरचनाहरू निर्माण, बिजुलीका पोल सार्ने काम तथा रुख कटान छपानजस्ता कार्यहरू सञ्चालनमा रहेका छन्।

लामो समयसम्म सडक निर्माण अघि नबढेपछि महासचिव पोखरेलकै सक्रियतामा सडकको जिम्मा नेपाल सरकारले लिएको थियो। एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र उपाध्यक्ष विष्णुप्रसाद पौडेल अर्थमन्त्री रहेका बेला पोखरेलले सडक निर्माणको स्वामित्व सरकारले लिने निर्णय गराउन सफल भएका थिए। पार्टीका महासचिवका रूपमा पोखरेलले करिव चार अर्ब रुपैयाँ बजेट सुनिश्चित गराएर अलपत्र सडक निर्माणलाई अघि बढाउन भूमिका खेलेका थिए।

चारलेन सडकको विषयमा पोखरेलकै पहलमा अर्थ मन्त्रालयले २०८१ मंसिर ११ गते राष्ट्रिय योजना आयोगलाई पत्र लेख्दै बजेट सुनिश्चित भएको जानकारी गराएको थियो। मदन भण्डारी राजमार्गअन्तर्गत करिब तीन अर्ब ९९ करोड ४९ लाख रुपैयाँको बहुवर्षिय ठेक्काका लागि स्रोत सहमतिका लागि अर्थ मन्त्रालयले राष्ट्रिय योजना आयोगसमक्ष पत्र पठाएको थियो।

घोराहीको डिके पम्पदेखि तुलसीपुरको हात्तीखौवासम्म करिब २१ दशमलव ५८ किलोमिटर क्षेत्रलाई चारलेन बनाइने छ। फोरलेन सडककै लागि पुल पनि फोरलेन बनाउने गरी केही खोलामा ठेक्का समेत भएको छ।

शुक्रबार, ०२ माघ २०८२, १३ : २९

प्रतिक्रिया