काठमाडौं- सूर्य नेपाल गल्फ टुर २०२५-२६ अन्तर्गतको दोस्रो प्रतियोगिता सूर्य नेपाल इस्टर्न ओपनको उपाधि नेपाल नम्बर एक गल्फर निरज तामाङले लगातार दोस्रो पटक जितेका छन्।
पार-७० को धरान गल्फ क्लबमा शुक्रबार सम्पन्न तेस्रो तथा अन्तिम राउन्डमा ३-अन्डर ६७ को कार्ड बनाए। समग्रमा ५४ होलको खेल १५-अन्डर १ सय ९५ को लोभलाग्दो स्कोरमा बनाउँदै उपाधि रक्षा गर्न सफल भएका हुन्। उनले एमेच्योर गल्फर राहुल विश्वकर्मालाई ६ स्ट्रोकले पछि पार्दै करिअरको चौथो उपाधि जिते। उपाधिसँगै निरजले नगद १ लाख ७० हजार रुपैयाँ प्राप्त गरे।
राहुलले आज २-अन्डर ६८ खेल्दै ९-अन्डर २ सय १ को कुल स्कोरसहित समग्रमा दोस्रो स्थान हासिल गरे भने एमेच्योरतर्फको उपाधि जिते। अनुभवी प्रो बलभद्र राईले अन्तिम दिन ५-अन्डर ६५ को उत्कृष्ट प्रदर्शनमा समग्रमा ६-अन्डर २ सय ४ को स्कोरसहित प्रोफेसनलतर्फ दोस्रो भए। उनले १ लाख २५ हजार रुपैयाँ प्राप्त गरे।
दिनेश प्रजापतिले ४-अन्डर २ सय ६ को कुल स्कोरसहित प्रोतर्फ तेस्रो तथा समग्रमा चौथो स्थान हासिल गरे। अन्तिम राउन्डमा ३-अन्डर ६९ खेलेका उनले १ लाख रुपैयाँ पाए। टंक बहादुर कार्की (७१) र पूर्व नेपाल नम्बर एक प्रो भुवन नगरकोटी (६९) ले ३-अन्डर २ सय ७ को स्कोरसहित प्रोतर्फ संयुक्तरुपमा चौथो स्थान बाँडे र दुवैले ७७ हजार रुपैयाँ प्राप्त गरे।
पूर्व शीर्ष प्रो रवि खड्काले १-अन्डर २ सय ९ को स्कोरसहित प्रोफेसनल तर्फ छैटौं स्थानमा रहेर ६४ हजार रुपैयाँ पाए। लिडर ग्रुपमा खेलेका शुक्र बहादुर राई अन्तिम राउन्डमा ४-ओभर ७४ खेल्दा समग्रमा इभन–पार २१० सहित आठौं स्थानमा तल झरे। उनले ५७ हजार रुपैयाँमा चिक्त बुझाए।
प्रोतर्फ सुमन परियार (६९) कूल २-ओभर २ सय १२ स्कोरसहित आठौं स्थानमा रहे भने सञ्जय लामा (६८) समग्रमा २ सय १३ सहित नवौं स्थानमा र २ सय १८ को स्कोरमा सुनिल केसी (७४) दशौं स्थानमा रहे। उनीहरूले क्रमशः ५१ हजार, ४६ हजार र ४२ हजार रुपैयाँ प्राप्त गरे। शीर्ष १८ भित्र पर्ने प्रोफेसनल खेलाडीहरूले पनि नगद पुरस्कार प्राप्त गरे। प्रतियोगिताको दोस्रो दिन १४औं होलमा होल-इन-वान गरेका प्रो जयराम श्रेष्ठले ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे।
एमेच्योरतर्फ पदम हाङ लिम्बुले अन्तिम राउन्डमा ३-अन्डर ६९ खेल्दै २ सय ११ को कुल स्कोरसहित उपविजेता बने। सुन्दर राई (६८) ३-ओभर २ सय १३ स्कोरसहित तेस्रो भए। विजेता निरजले फ्रन्ट नाइनमा ३-अन्डर ३३ खेल्ने क्रममा दोस्रो, तेस्रो र चौथो होलमा लगातार बर्डी प्रहार गरे। ब्याक नाइनमा उनले १०औं, १३औं, १४औं र १५औं होलमा बोगी खेपर पनि ११औं, १२औं, १६औं र १८औं होलमा बर्डीको सफलतामा इभन-पार ३४ खेले।
दोस्रो स्थानमा रहेका राहुलले फ्रन्ट नाइनमा तेस्रो, छैटौं र नवौं होलमा बर्डी तथा सातौं होलमा बोगीसहित २-अन्डर ३४ खेले। ११औं होलमा बोगी र १८औं होलको बर्डीले ब्याक नाइन इभन-पार ३४ खेले। स्थानीय प्रो बलभद्रले आठ बर्डी प्रहार गर्दै फ्रन्ट नाइनमा २-अन्डर ३४ र ब्याक नाइनमा ३-अन्डर ३१ खेले। उनले दोस्रो, तेस्रो, चौथो र आठौं होलमा बर्डी तथा पहिलो र छैटौं होलमा बोगी खेपे। ब्याक नाइनमा १५औं होलमा एक सट खेर फाले पनि ११औं, १२औं, १७औं र १८औं होलमा बर्डी प्रहार गरे।
पीजीए नेपालद्वारा सूर्य नेपाल प्रालिको प्रायोजनमा आयोजित ५४ होलको प्रतियोगितामा ३० प्रो र २२ एमेच्योर गरी कुल ५२ खेलाडीले सहभागिता जनाएका थिए। कुल १० लाख ५० हजार रुपैयाँ पुरस्कार राशि रहेको प्रतियोगिताका विजेतालाई सूर्य नेपालका डेपुटी जनरल मेनेजर केशव प्रधान, नेपाल गल्फ संघका उपाध्यक्ष तिलक राई, कोशी प्रदेश गल्फ संघका उपाध्यक्ष भरत तामाङ, सुनसरी गल्फ संघका अध्यक्ष जितेन्द्र राई तथा धरान गल्फ क्लबका अध्यक्ष हरि राईले पुरस्कार वितरण गरे।
च्याम्पियनसिप शनिबार आयोजना हुने प्रो-एम प्रतियोगितासँगै समापन हुनेछ। जहाँ एमेच्योर तथा सोसियल गल्फरले प्रोफेसनल खेलाडीसँग टिम बनाएर खेल्ने अवसर पाउनेछन।
एमेच्योर तर्फ राहुल ७-अन्डर १३३ स्कोर सहित शीर्ष स्थानमा रहेका छन। उनी पदम हाङ लिम्बु र प्रकृत तामाङ भन्दा ९ स्ट्रोकले अगाडी रहेका छन। अन्य चार एमेच्योर खेलाडी, सुन्दर राई, राम तामाङ, जितेन्द्र राई र बलराम पौडेलले पनि कट बनाए।
११-ओभर १५१ स्कोर गरेपनि शिव कुमार माझी, थाम बहादुर राई, राजेन राई तथा एमेच्योर गजेन्द्र लिम्बु काउन्ट ब्याकका आधारमा कट बनाउन सकेनन।
सूर्य नेपाल प्रा.लि.को प्रायोजनमा तीन दिनसम्म चल्ने ५४ होलको प्रतिस्पर्धामा कुल पुरस्कार राशि १० लाख ५० हजार रुपैयाँ रहेको छ। प्रतियोगिताको उपाधि विजेताले १ लाख ७० हजार रुपैयाँ प्राप्त गर्नेछन्। उपविजेताले १ लाख २५ हजार र तेस्रो स्थान हासिल गर्ने खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा ३० जना व्यावसायिक खेलाडी तथा २२ एमेच्योर खेलाडीले उपाधिको लागि दाबेदारी प्रस्तुत गरेका थिए।
प्रतियोगिताको समापन माघ १७ गते शनिबार प्रो–एम प्रतियोगितासँगै हुनेछ। प्रो–एम इभेन्टमार्फत एमेच्योर गल्फरहरूले व्यावसायिक खेलाडीसँग एउटै टिममा खेल्ने अवसर पाउनेछन्। जसले प्रतियोगितालाई थप आकर्षक बनाउने अपेक्षा गरिएको छ।
सूर्य नेपाल गल्फ टुर २०२५-२६ मा कुल आठ प्रतियोगिता समावेश छन्। जसको समग्र पुरस्कार राशि ८० लाख रुपैयाँ रहेको छ। नेपालको प्रमुख व्यावसायिक गल्फ सर्किटका रूपमा स्थापित यो टुरले यस वर्ष पनि प्रतिस्पर्धात्मक र रोमाञ्चक खेल प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया