मलैसा आचार्य ‘फेस अफ एसवाई २०८२’ विजेता चयन

शनिबार, ०३ माघ २०८२, १४ : ३०

काठमाडौं- एसवाई इन्टरटेन्मेन्ट प्रालिको आयोजनामा सम्पन्न ‘फेस अफ एसवाई २०८२ (ब्राण्ड एम्बेसडर हन्ट)’ प्रतियोगितामा मलैसा आचार्य विजेता भएकी छिन्। राजधानीको वानेश्वरस्थित एभरेष्ट होटलमा शुक्रबार सम्पन्न ग्रान्ड फिनालेमा कुल दुई करोड रुपैयाँभन्दा बढी पुरस्कार वितरण गरिएको आयोजकले जनाएको छ।

एसवाई प्यानल, एसवाई कष्मेटिक, एसवाई बजार र एसवाई युपिभिसीको ब्राण्ड प्रचारका लागि आयोजना गरिएको प्रतियोगिता नेपालकै पहिलो ठूलो ब्राण्ड एम्बेसडर हन्ट हो। आयोजक, एसवाई प्यानल नेपालका निर्देशक विमलराज गोसाईले यस प्रतियोगिताको पुरस्कार नेपालकै मिस नेपाल प्रतियोगिताभन्दा बढी रहेको बताए।

कार्यक्रममा मुख्य तीन जना ब्राण्ड एम्बेसडर चयन गरिएको थियो। टाइटल विनर मलैसा आचार्यलाई पाँच लाख नगद पुरस्कारका साथै एक करोड रुपैयाँ बराबरको एक वर्षको कन्ट्र्याक्ट प्रदान गरिएको छ। फष्ट रनर अप सारा लामा र सेकेण्ड रनर अप अपि योन्जन चयन भए। उनीहरुलाई क्रमशः चार लाख र तीन लाख नगद पुरस्कारसहित ५० लाख र ३० लाख बराबरको कन्ट्र्याक्ट दिइनेछ। बाँकी उत्कृष्ट सात जनालाई पपुल्यारिटी अवार्डका रूपमा प्रति व्यक्ति डेढ लाख रुपैयाँ दिइएको छ।

प्रतियोगिता चरणबद्ध रूपमा सञ्चालन गरिएको थियो। पहिलो चरणमा सहभागिहरूले एसवाई थिममा भिडियो बनाएर डिजिटल अडिसनमा भाग लिनु परेको थियो। उत्कृष्ट ५०० जनालाई दोस्रो चरणमा अघि बढाइएको थियो। दोस्रो चरणपछि उत्कृष्ट २५ जनालाई फाइनल अडिसनमा सहभागी गराइयो। अन्तिम चरणमा सहभागीहरुको मूल्यांकन सोसियल नेटवर्किङ र जजबाट गरिएको थियो।

प्रतियोगितामा महिला-पुरुष दुवैले भाग लिन पाएका थिए। सहभागीहरूले एसवाई बजार र एसवाई कष्मेटिकको फेसबुक, इन्स्टाग्राम तथा टिकटकलाई फलो गरी क्रियटिभ भिडियो तयार गर्नुपर्ने व्यवस्था थियो।

आयोजक एसवाई ग्रुप अफ कम्पनी दक्षिण कोरियामा आधारित मल्टिनेशनल कम्पनी हो। यस कम्पनी अन्तर्गत एसवाई प्यानल नेपाल, एसवाई बजार, एसवाई इन्टरप्राइजेज लगायतका कम्पनी नेपालमा सञ्चालित छन्।

 
शनिबार, ०३ माघ २०८२, १४ : ३०

प्रतिक्रिया