सुर्खेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य तथा सुर्खेत निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार रवि किरण हमालले चुनावी अभियान सुरु गरेका छन्।
हमालले सुर्खेत–१ अन्तर्गत पर्ने वीरेन्द्रनगर नगरपालिका वडा नम्बर १५ बाट आफ्नो चुनावी अभियानको औपचारिक सुरुआत गरेका हुन्। यसपटक उनले मनोनयन दर्ता अगावै मतदाता भेटघाट र जनसंवादलाई प्राथमिकता दिँदै अभियान अघि बढाएका हुन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले सुर्खेत–१ मा हमाललाई उम्मेदवारका रूपमा औपचारिक रूपमा तय गरिसकेकाले उनलाई प्रत्यक्ष रूपमा मतदातासमक्ष पुग्न सहज भएको पार्टी नेताहरूले बताएका छन्।
अभियानको क्रममा हमालले निर्वाचनलाई केवल सत्ता प्राप्तिको माध्यम नभई जनसंवाद र वैचारिक बहसको मञ्चका रूपमा लिएको बताए। उनले भाद्र २३ र २४ गते नवोदित पुस्ताले गरेको बलिदानलाई संस्थागत गर्न, त्यसको ऐतिहासिक महत्व र भावी दिशानिर्देशबारे जनतालाई एक ठाउँमा ल्याउने उद्देश्यसहित आफू मैदानमा उत्रिएको स्पष्ट पारे।
राजनीतिक विश्लेषकहरूका अनुसार सुर्खेत–१ मा निवर्तमान प्रतिनिधिसभा सदस्य पूर्णबहादुर खड्का आफ्नै पार्टीभित्र कमजोर अवस्थामा रहेको समयमा रवि किरण हमालले अभियानलाई तीव्र बनाउनु चुनावी प्रतिस्पर्धालाई थप रोचक बनाउने संकेत हो।
हमालको अभियानले युवापुस्ताको सहभागिता, परिवर्तनको एजेन्डा र वैकल्पिक राजनीतिक नेतृत्वको बहसलाई सुर्खेत–१ मा थप सशक्त बनाउने अपेक्षा गरिएको छ।
प्रतिक्रिया