आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो सम्पन्न, ३१ हजार बढीले गरे अवलोकन

आइतबार, ०४ माघ २०८२, १७ : ०८

काठमाडौं- चितवन प्रदर्शनी केन्द्रमा सञ्चालन भएको तीनदिने आठौं एग्रीटेक इन्टरनेशनल एक्स्पो सम्पन्न भएको छ । माघ २ देखि ४ गतेसम्म चलेको एक्स्पोमा ३१ हजारभन्दा बढी अवलोकनकर्ताको सहभागिता रहेको आयोजकले जनाएको छ ।

नेपाल मिडिया स्पेस सोलुसन्स प्रा.लि. र फ्युचरएक्स ट्रेड फेयर एण्ड इभेन्ट्स प्रा.लि.को संयुक्त आयोजनामा सम्पन्न एक्स्पोमा कृषक, उद्यमी, व्यवसायी, अनुसन्धानकर्ता तथा विषयगत क्षेत्रका सरोकारवालाको उल्लेखनीय उपस्थिति रहेको थियो ।

मिडिया स्पेसका प्रबन्ध निर्देशक सृजल भट्टराईका अनुसार छोटो अवधिको भए पनि एक्स्पोले अवलोकनकर्ताबाट उत्साहजनक प्रतिक्रिया पाएको छ । “अवलोकनकर्ताले कृषि प्रविधि र उत्पादनबारे बुझ्ने, जान्ने र प्रयोगसम्बन्धी जानकारी लिनुभएको छ । प्रदर्शकहरू पनि सन्तुष्ट हुनुहुन्छ,” उनले भने ।

चितवन उद्योग संघका अध्यक्ष मदन घिमिरेले यसपटक लक्षित समूहका अवलोकनकर्ताको उपस्थिति अपेक्षाभन्दा बढी रहेको बताए । “अघिल्ला मेला–एक्स्पोभन्दा यसपटक विषयगत र लक्षित समूहका सहभागी बढी देखिए,” उनले भने । यस्ता कार्यक्रमले सार्थकता पाउँदै गएको र अवलोकनकर्ताले अधिकतम लाभ लिएको उनको भनाइ छ ।

प्रदर्शनीमा नेपाल, भारत, चीन लगायत देशका कृषि सम्बन्धी राष्ट्रिय तथा अन्तरराष्ट्रिय कम्पनीका १०० भन्दा बढी स्टल रहेका थिए । कुखुरापालन, मत्स्यपालन, बाख्रापालन, गाई–भैंसी पालन, डेरी व्यवसाय, कृषिऔजार तथा यन्त्र, पशु स्वास्थ्य सेवा, खाद्य प्रविधि तथा फुड प्रोसेसिङ, मल, बीउ–बिजन, कीटनाशक, कृषि तालिम तथा वित्तीय समाधानसम्बन्धी जानकारी प्रस्तुत गरिएको थियो ।

एक्स्पोमा नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम प्रवर्द्धक संस्थाको रूपमा रहेको थियो । साथै राष्ट्रिय दुग्ध विकास बोर्ड, नेपाल कृषि सहकारी केन्द्रीय संघ, राष्ट्रिय कृषक समूह महासंघ–नेपाल, गाउँपालिका राष्ट्रिय महासंघ–नेपाल, नेपाल पोल्ट्री महासंघ, च्याउ उत्पादक किसान संघ–नेपाल, कृषि तथा वन विज्ञान विश्वविद्यालय तथा चितवन उद्योग संघ सहयोगी संस्थाका रूपमा सहभागी थिए ।

माघ ४ गतेसम्म सञ्चालन भएको एक्स्पोमा अवलोकनकर्ताका लागि निःशुल्क प्रवेश पासको व्यवस्था गरिएको थियो ।

 
आइतबार, ०४ माघ २०८२, १७ : ०८

प्रतिक्रिया