काठमाडौंमा यांगोको डेलिभरी सेवा सुरु

मंगलबार, ०६ माघ २०८२, ११ : ३६

काठमाडौं- राइड हेलिङ प्लेटफर्म यांगोले नेपाली बजारमा काठमाडौंमा ‘यांगो डेलिभरी’ सेवा सुरु गरेको छ । 

यस सुविधामार्फत काठमाडौंका बासिन्दा र साना व्यवसायीहरूले एउटै एपबाट राइड(हेलिङका साथै सामान ओसारपसार गर्ने डेलिभरी सेवासमेत प्राप्त गर्न सक्नेछन् । 

कम्पनीले साना प्याकेज र कागजातका लागि ‘मोटो कुरियर’, मध्यम आकारका सामानका लागि ‘कार कुरियर’ र ठुला तथा गह्रौँ सामानका लागि ‘कार्गो’ गरी तीन फरक विकल्प उपलब्ध गराएको छ ।

दक्षिण एसियाका लागि यांगो डेलिभरीका क्षेत्रीय प्रमुख मोहम्मद अहसान अकबरले प्रयोगकर्ताको आवश्यकता अनुसार सहज र भरपर्दो डेलिभरी सुविधा प्रदान गर्नु नै कम्पनीको मुख्य उद्देश्य रहेको र यसले काठमाडौंको सहरी जीवनशैली र साना व्यवसायको वृद्धिमा सहयोग पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

यांगो डेलिभरीले सामान ढुवानीलाई थप प्रभावकारी र पारदर्शी बनाउन अत्याधुनिक रुटिङ र ब्याचिङ एल्गोरिदमका साथै ‘लाइभ ट्र्याकिङ’ प्रविधिको प्रयोग गरेको छ । जसले गर्दा ग्राहक र कुरियर दुवैले सामानको अवस्थाबारे वास्तविक समयमा जानकारी पाउनेछन् ।

यो सेवाले आफ्नै सवारी साधन वा कुरियर सञ्चालन नगरी स्थानीय नेपाली यातायात कम्पनीहरूसँग डिजिटल सहकार्य गर्ने मोडेल अपनाएको यांगोको भनाइ छ ।

सन् २०२५ मे महिनामा राइड हेलिङ सेवामार्फत यांगो नेपाल प्रवेश गरेको थियो ।

 
मंगलबार, ०६ माघ २०८२, ११ : ३६

प्रतिक्रिया