काठमाडौं- पशु सेवा तालिम केन्द्र, दुहवी (सुनसरी) को आयोजना तथा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको व्यवस्थापनमा झापा र मोरङ जिल्लामा व्यवसायिक गाई तथा कुखुरा पालनसम्बन्धी स्थलगत तालिम सम्पन्न भएको छ।
यही पुस १८ गतेदेखि २३ गतेसम्म झापा जिल्लाको गरामुनी शाखामार्फत गाई पालनमा संलग्न ६ जना सदस्यलाई पाँच दिने स्थलगत गाई पालन तालिम प्रदान गरिएको थियो। तालिममा उन्नत गाई पालन, आहार व्यवस्थापन, रोग नियन्त्रण, गोठ सुधार तथा व्यवसायिक पशुपालनका आधारभूत सीपबारे प्रशिक्षण दिइएको पशु सेवा तालिम केन्द्रले जनाएको छ।
त्यसैगरी, पुस २७ गतेदेखि ३१ गतेसम्म मोरङ जिल्लाको दुर्गापुरी शाखामार्फत १५ जना कुखुरा पालक सदस्यलाई छ दिने स्थलगत कुखुरा पालन तालिम प्रदान गरिएको छ। तालिममा व्यवसायिक कुखुरा पालन, खोर व्यवस्थापन, रोग रोकथाम, उत्पादन लागत घटाउने उपाय तथा बजार व्यवस्थापनसम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो।

उक्त तालिमको मुख्य उद्देश्य ग्रामीण महिला सदस्यहरूको क्षमता अभिवृद्धि गर्दै उनीहरूलाई व्यवसायिक पशुपालनतर्फ प्रोत्साहित गर्नु रहेको आयोजकले जनाएको छ। तालिममार्फत सहभागी पशुपालक सदस्यहरू दीर्घकालीन रूपमा आत्मनिर्भर बन्ने तथा आयआर्जनमा वृद्धि हुने विश्वास लिइएको छ।
प्रतिक्रिया