काठमाडौं- चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म नेप्सेमा सूचीकृत १५ वटा फाइनान्स कम्पनीको नाफा सुधारिएको छ। पुस मसान्तसम्म फाइनान्स कम्पनीहरुको कुल नाफा ३२ करोड ७७ लाख रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा कम्पनीहरुको नाफा ७३ करोड २ लाख रुपैयाँ ऋणात्मक रहेको थियो।
वित्तीय विवरण अनुसार १५ मध्ये १२ कम्पनीले लाभ कमाएका छन् भने तीन कम्पनी नोक्सानीमा रहेका छन्। सबैभन्दा बढी नाफा मञ्जुश्री फाइनान्सले १३ करोड ५३ लाख रुपैयाँ कमाएको छ। गुडविल फाइनान्सले ११ करोड १७ लाख, गोर्खाज फाइनान्सले ६ करोड १६ लाख, सेन्ट्रल फाइनान्सले ३ करोड ९१ लाख, आइसीएफसी फाइनान्सले ३ करोड २० लाख, पोखरा फाइनान्सले २ करोड ९५ लाख, बेस्ट फाइनान्सले १ करोड ७४ लाख, गुहेश्वरी मर्चेन्ट एन्ड फाइनान्सले १ करोड ६८ लाख र श्री इन्भेष्टमेन्ट एन्ड फाइनान्सले १ करोड २१ लाख रुपैयाँ नाफा आर्जन गरेका छन्।
मल्टिपर्पोज फाइनान्स, रिलायन्स फाइनान्स र समृद्धि फाइनान्सको खुद नाफा १ करोडभन्दा कम रहेको छ। जानकी फाइनान्स, प्रोग्रेसिभ फाइनान्स र नेपाल फाइनान्स भने नोक्सानीमा रहेका छन्।
गत वर्षको दोस्रो त्रैमाससँग तुलना गर्दा १० वटा कम्पनीको खुद नाफामा १४५ देखि २४७२५ सम्म वृद्धि देखिएको छ। सबैभन्दा बढी नाफा वृद्धिदर गोर्खाज फाइनान्समा देखिएको छ भने सबैभन्दा ठूलो गिरावट नेपाल फाइनान्समा देखिएको छ।
गोर्खाज फाइनान्सले गत वर्षको दोस्रो त्रैमासमा २५ लाख ९८ हजार रुपैयाँ घाटामा रहेकोमा, चालु आवको दोस्रो त्रैमाससम्म ६ करोड १६ लाख रुपैयाँ नाफामा पुगेको छ। त्यस्तै, नेपाल फाइनान्स कम्पनी गत वर्षको दोस्रो त्रैमासमा २ करोड ५ लाख रुपैयाँ लाभमा रहेकोमा थियो भने चालु आवको दोस्रो त्रैमाससम्म ८ करोड ७३ लाख ४९ हजार रुपैयाँ नोक्सानीमा छ।
प्रतिक्रिया