सातौं डिएभी अन्तरकलेज फुटसल प्रतियोगिता सम्पन्न, समृद्धि स्कुल विजेता

सोमबार, १९ माघ २०८२, ११ : ३०

काठमाडौं- खेलकुदमार्फत विद्यार्थीमा अनुशासन विकास गर्दै प्रतिभाशाली फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यसहित डिएभी कलेजले आयोजना गरेको सातौं डिएभी (DAV) अन्तरकलेज फुटसल प्रतियोगिता सम्पन्न भएको छ।

मिति २०८२–१०–१६ गते कलेज परिसरस्थित आफ्नै फुटसल मैदानमा सुरु भएको उक्त प्रतियोगिताको उद्घाटन केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडियाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो। उद्घाटन कार्यक्रममा हिसान केन्द्रका वरिष्ठ उपाध्यक्ष श्री डा. स्वागत श्रेष्ठ मुख्य अतिथि रहनुभएको थियो भने डिएभी कलेजका प्रिन्सिपल तथा हिसान केन्द्रीय सदस्य सुमन बस्नेतले विशिष्ट अतिथिका रूपमा सहभागिता जनाएका थिए ।

४० वटा कलेजको सहभागिता रहेको प्रतियोगितामा शिव शक्ति एडु मार्ट प्रा.लि.का संस्थापक महेश गिरहिया तथा सुमेरु सिटी हस्पिटलका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

तीन दिनसम्म सञ्चालन भएको उक्त प्रतियोगिता डिएभी तहकै सबैभन्दा ठूलो धनराशिको फुटसल प्रतियोगिता भएको दाबी कलेजका प्रिन्सिपल सुमन बस्नेतले गरे।

प्रतियोगिताको फाइनल खेलमा समृद्धि स्कुल विजेता बन्दै रु. ३ लाख नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गर्न सफल भयो। उपविजेता बनेको हेराल्ड कलेजले रु. २ लाख नगदसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्‍यो।

व्यक्तिगत विधातर्फ समृद्धि स्कुलका कप्तान बोगटी उत्कृष्ट खेलाडी घोषित भए भने हेराल्ड कलेजका निराजन मगर उत्कृष्ट गोलरक्षक र एआइटीएम कलेजका सुशन बलामी उच्च गोलकर्ता घोषित भए। उनीहरूलाई जनही रु. १५ हजार नगद, व्यक्तिगत ट्रफी र प्रमाणपत्र प्रदान गरिएको थियो।

विजयी टिम तथा खेलाडीहरूलाई केडिया फाउन्डेसनका अध्यक्ष अनिल केडिया, कलेजका प्रिन्सिपल सुमन बस्नेत तथा शिव शक्ति एडु मार्ट प्रा.लि.का संस्थापक महेश गिरहियाले संयुक्त रूपमा पुरस्कार वितरण गरेका थिए ।

 
 
सोमबार, १९ माघ २०८२, ११ : ३०

प्रतिक्रिया