राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक

बुधबार, २१ माघ २०८२, १६ : ०८

काठमाडौं- एक्सट्रिम इनर्जी ड्रिंक्स र नेपाल क्रिकेट संघ (क्यान) बीचको साझेदारीमा एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अंकित नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक भएको छ ।

नेपाल क्रिकेट संघ (क्यान) र एक्सट्रिम इनर्जी ड्रिंक्स बीच जर्सी प्रायोजनसम्बन्धी दुई वर्षे सम्झौता माघ २ गते शुक्रबार सम्पन्न भएको थियो । उक्त सम्झौताअन्तर्गत एक्सट्रिम इनर्जी ड्रिंक्सको लोगो अंकित नेपाल राष्ट्रिय महिला क्रिकेट टोलीको नयाँ जर्सी सार्वजनिक गरिएको हो ।

बुधबार आयोजित जर्सी अनावरण कार्यक्रममा नेपाल क्रिकेट संघका पदाधिकारी, राष्ट्रिय महिला क्रिकेट टोलीका खेलाडी, एक्सट्रिम इनर्जी ड्रिंक्सका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले नेपाली क्रिकेट, विशेषगरी महिला क्रिकेटको विकासमा दीर्घकालीन सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । जर्सी प्रायोजनमार्फत खेलाडीहरूलाई प्रोत्साहन, आत्मविश्वास तथा व्यावसायिक वातावरण प्रदान हुने विश्वास व्यक्त गरिएको छ । यस सहकार्यले राष्ट्रिय महिला क्रिकेट टोलीको तयारी, मनोबल र अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धात्मक क्षमतामा सकारात्मक प्रभाव पार्ने अपेक्षा
गरिएको छ ।

नेपाल क्रिकेट संघका महासचिव चतुरवहादुर चन्दले निजी क्षेत्रबाट प्राप्त यस्तो सहयोगले नेपाली क्रिकेटको समग्र विकासमा महत्वपूर्ण योगदान पुग्ने बताए । साथै, सार्वजनिक गरिएको नयाँ जर्सीले नेपाली महिला क्रिकेट टोलीको पहिचानलाई अझ सशक्त बनाउने र अन्तर्राष्ट्रिय मञ्चमा नेपाललाई थप गौरवान्वित बनाउने विश्वास व्यक्त गरिएको छ ।

यसै क्रममा एक्सट्रिम इनर्जी ड्रिंक्सले आईसीसी मेन्स टी–२० विश्वकप क्रिकेटका खेलहरू हेर्न स्टेडियम पुग्ने समर्थकहरूका लागि १,५०० थान नेपाली क्रिकेट टोलीको जर्सी वानखडे स्टेडियममा निःशुल्क वितरण गर्ने जानकारी दिएको छ ।

 
बुधबार, २१ माघ २०८२, १६ : ०८

प्रतिक्रिया