काठमाडौं- नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले १५ औं वर्ष पूरा गरी आज १६ औं वर्षमा प्रवेश गरेको छ। यस अवसरमा संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंको नक्सालस्थित नारायणचौरको प्रांगणमा रक्तदान कार्यक्रम सञ्चालन गरेको छ।
मिति २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेष्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ। स्थापनादेखि हालसम्म संस्थाले व्यावसायिकता, सुशासन, पारदर्शिता तथा ग्राहक–केन्द्रित सेवामार्फत संस्थागत विश्वास निर्माण गर्न सफल भएको जनाएको छ।
बदलिँदो वित्तीय परिवेशसँग आफूलाई निरन्तर परिमार्जन गर्दै नबिल इन्भेष्टमेन्टले दीर्घकालीन मूल्य सिर्जनालाई प्राथमिकतामा राखी विविध लगानी तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको छ। मर्चेन्ट बैंकिङ अन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धन, डिपी सेवा, शेयर रजिष्ट्रार, शेयर प्रत्याभूति लगायतका सेवाहरू उपलब्ध गराउँदै आएको छ।
त्यस्तै, इन्भेष्टमेन्ट बैंकिङ्गतर्फ लगानी व्यवस्थापन सेवा, सामूहिक लगानी कोष, संस्थागत परामर्श सेवा प्रदान गर्दै आएको संस्थाले संरचना पुनर्संरचना, मूल्याङ्कन, व्यवसायिक योजना, लोन सिन्डिकेशन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्युजिसन र लगानीसम्बन्धी परामर्श सेवाहरू पनि उपलब्ध गराउँदै आएको छ।
संस्थाले निकट भविष्यमा विशिष्टीकृत लगानी कोष अन्तर्गत प्राइभेट इक्विटी फण्ड सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ।
१५ औं वर्षको उपलब्धिलाई संस्थागत गौरवको रूपमा मनाउँदै नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडले आगामी दिनहरूमा नवीन सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रविधिमैत्री प्रणाली र दिगो लगानी अभ्यासमार्फत नेपाली पूँजी बजारको विकासमा थप योगदान पुर्याउने प्रतिबद्धता व्यक्त गरेको छ।
यस अवसरमा संस्थाले आफ्ना सम्पूर्ण ग्राहक, नियामक निकाय, मिडियाकर्मी, संस्थापक कम्पनी तथा शुभचिन्तकहरूप्रति आभार तथा धन्यवाद व्यक्त गरेको छ।
प्रतिक्रिया