काठमाडौं- नेपाल इको प्यानलको आयोजनामा ‘नेपाल इको प्यानल चेस फर अल’ फिडे र्यापिड रेटिङ १७०० मुनि चेस प्रतियोगिता सम्पन्न भएको छ ।
४२ जिल्लाबाट सहभागी एक सय ४८ जना खेलाडीबीच भएको प्रतिस्पर्धामा मोरङका भरत धिमाल प्रथम भएका छन् । प्रतियोगितामा भारतबाट दुई जना खेलाडीको समेत सहभागिता रहेको थियो ।
विजयी खेलाडीहरूलाई नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत इन्जिनियर कृष्णभक्त दुवालले नगद पुरस्कारसहित शिल्ड तथा प्रमाणपत्र वितरण गरे ।
राष्ट्रिय चेस समुदायको समन्वय र नेपाल इको प्यानलको सहयोगमा आयोजना गरिएको उक्त प्रतियोगिताको उद्देश्य १७०० भन्दा कम रेटिङ भएका उदीयमान खेलाडीलाई अवसर प्रदान गर्नुका साथै चेस खेलमा समावेशी सहभागिता प्रवर्द्धन गर्नु रहेको आयोजकले जनाएको छ ।
आयोजकका अनुसार खेलकुदमार्फत वातावरणमैत्री सोच प्रवर्द्धन गर्दै ‘चेस सबैका लागि’ भन्ने अवधारणालाई व्यवहारमा उतार्ने लक्ष्य राखिएको हो । अपेक्षाभन्दा बढी खेलाडीको सहभागिताले देशभरका युवा तथा चेसप्रेमीहरूमा चेसप्रति बढ्दो आकर्षण देखिएको आयोजकको भनाइ छ ।
देशका विभिन्न जिल्ला, विद्यालय, कलेज तथा क्लबबाट खेलाडीहरू प्रतिस्पर्धामा उत्रिएका थिए । विविधतापूर्ण सहभागितासहित सम्पन्न यो प्रतियोगिता पछिल्लो समयकै उल्लेखनीय ¥यापिड रेटिङ प्रतियोगितामध्ये एक बन्ने अपेक्षा गरिएको छ । साथै, भारतका खेलाडीको सहभागिताले प्रतियोगितालाई क्षेत्रीय स्तरमा समेत पहिचान दिलाएको आयोजकको विश्वास छ ।
प्रतिक्रिया