काठमाडौं- काठमाडौं मेडिकल कलेज (केएमसी) ले नेपाली राष्ट्रिय महिला टिमकी कप्तान सावित्रा भण्डारी (साम्बा) को निःशुल्क उपचार गर्ने भएको छ ।
यस अघि कतारको अस्पेटारमा घुँडाको शल्यक्रिया गरेर हालिएको ग्राफ्ट र एमसिएल दुवैमा गम्भीर चोट लागेर पुनः शल्यक्रिया गर्नुपर्ने अवस्थाका कारण साम्बाले सामाजिक सञ्जाल मार्फत सहयोगको आग्रह गरेपछि केएमसीले निःशुल्क उपचार गर्ने भएको हो । साम्बा पछिल्लो सात हप्तादेखि घुँडाको चोटको कारण मैदान बाहिर रहेकी छिन् ।
सोमबार साम्बाले सामाजिक सञ्जाल मार्फत उपचारका लागि कुल ८० हजार अमेरिकी डलर खर्च हुने भन्दै सहयोगको अपिल गरेकी थिइन् ।
उत्कृष्ट र अत्याधुनिक उपकरण, दक्ष जनशक्तिका साथ गुणस्तरीय उपचार सेवा उपलब्ध गराउँदै आएको काठमाडौं मेडिकल कलेजले आफ्नो सामाजिक उत्तरदायित्व र राष्ट्रप्रतिको आफ्नो कर्तव्यप्रति सचेत रहँदै राष्ट्रिय महिला फुटबल टिमकी कप्तान साम्बाको उपचार प्रक्रियाको गाम्भिर्यतालाई मध्यनजर गर्दै साम्बाको उपचारप्रति जिम्मेवार र संवेदनशील रहेको बताएको छ ।

प्रतिक्रिया