काठमाडौं- सिन्धुली जिल्लाको कमलामाई नगरपालिका १२ स्थित जिर्घा खोलामा अवस्थित पिछडिएका ग्रामीण बस्तीका सर्वसाधरणहरुलाई लक्षित गरी जिर्घा खोलामा पक्की पुल निर्माण हुने भएपछि सुविधा हुने भएको छ ।
स्थानीय पूर्वाधार विकास आयोजना हेटौडाको ४ करोड ३३ लाख ३३ हजारको लागतमा डबल लेनको पुल निर्माण भएपछि सदरमुकाम सिन्धुली माडीबाट जिल्लाका दुई गाउँपालिका समेत छोटो दुरीमा पुग्न सकिने भएको छ ।
विगतमा सो स्थानमा सडक पुलको अभावमा बिमारीहरूलाई अस्पताल पुर्याउन असुविधा हुनुका साथै कृषिजन्य उत्पादनहरू बजारमा बिक्री वितरणमा लैजानका लागि असुविधा हुँदै आएको थियो । जिर्घा खोलामा ५० मिटरका सिंगल स्पानयुक्त पक्की पुल निर्माण थालिएपछि सो क्षेत्रको सामाजिक र आर्थिक विकासमा समेत प्रत्यक्ष रूपमा टेवा पुग्ने देखिएको छ ।
पुल निर्माणले कमलामाई नगरपालिका वडा नम्बर १२ हुँदै तीन पाटन,गोलन्जोर र फिक्कल गाउँपालिकाका विभिन्न वडाका स्थानीयहरूलाई समेत सदरमुकाम सिन्धुली माडी सम्म आवात जावत गर्न सुविधा हुने देखिएको छ ।
पुल निर्माणको कार्य आगामी २०८३ साल असार १५ गते सम्मका लागि तोकिएको स्थानीय पूर्वाधार विकास आयोजना हेटौडाका प्राविधिक राजीवकुमार साहले बताए । सो पक्की पुलको सम्पूर्ण निर्माण कार्य तोकिएको म्याद भन्दा अगावै छिटो सम्पन्न गर्न लागिएको पुल निर्माणमा संलग्न जीवन कन्स्ट्रक्सन कम्पनीका प्रबन्ध निर्देशक डिल्लीबहादुर श्रेष्ठले बताए ।
सडक पुलको निर्माण कार्य तीव्र रूपमा सञ्चालन गरेको बताउँदै पुल निर्माण सम्पन्न भएपछि कमलामाई नगरपालिका १२ नम्बर वडा र सिक्रे, फलाटे लगायत सो क्षेत्रका स्थानीय डेढलाल श्रेष्ठ र नारायण आलेले बताए ।
प्रतिक्रिया