काठमाडौं- व्यावसायिक रूपमा केराखेती गर्ने किसानलाई प्रोत्साहन गर्न कृष्णपुर नगरपालिकाले ५० प्रतिशत अनुदानमा केराका बिरुवा उपलब्ध गराउने भएको छ । केराखेती विस्तार तथा किसानको मागलाई मध्यनजर गर्दै अनुदानमा बिरुवा वितरण गर्ने योजना अघि बढाइएको हो ।
नगरपालिकाका कृषि शाखा प्रमुख लालबहादुर धामीका अनुसार किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीलाई मागका आधारमा केराका बिरुवा उपलब्ध गराइनेछ । किसानलाई कूल रु १० लाख मूल्य बराबरका केराका बिरुवा वितरण गर्ने लक्ष्य राखिएको उनले बताए । केराका बिरुवाको मूल्यको आधा रकम नगरपालिका र आधा रकम किसानले व्यहोर्ने छन् ।
किसानलाई अनुदानमा बिरुवा उपलब्ध गराउन नगरपालिकाले रु पाँच लाख बजेट विनियोजन गरेको जनाएको छ । यस कार्यक्रमबाट केरा खेतीमा संलग्न किसानलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरिएको छ ।
हाल कृष्णपुर नगरपालिकामा व्यावसायिक रूपमा करिब ३५ भन्दा बढी किसान केरा खेतीमा संलग्न रहेका छन् । नगरपालिकाको विभिन्न क्षेत्रमा करिब ५५ हेक्टरभन्दा बढी जमिनमा केराखेती हुँदै आएको कृषि शाखा प्रमुख धामीले बताएका छन् । अनुदानमा केराका बिरुवा वितरणका लागि नगरपालिकाले ३० दिने सार्वजनिक सूचना जारी गरेको छ ।
इच्छुक किसान, कृषि समूह, फर्म, सहकारी तथा कृषि उद्यमीले तोकिएको समयभित्र आवश्यक कागजातसहित निवेदन दिन सक्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया