काठमाडौं- भक्तपुरको गठ्ठाघरस्थित जर्मन होम्स होटलमा बिहीबारदेखि तीन दिने ‘हाट बजार तथा फूड मेला २.०’ आयोजना हुने भएको छ। चैत १२, १३ र १४ गतेसम्म सञ्चालन हुने यो मेला स्थानीय संस्कृति, खानपान, सिर्जनशीलता र सामुदायिक सहभागितालाई एकै ठाउँमा जोड्ने उद्देश्यका साथ ल्याइएको हो।
आयोजकका अनुसार ग्राहकहरूको माग र उत्साहलाई ध्यानमा राख्दै मेलाको दोस्रो संस्करण अझ आकर्षक बनाइएको छ, जहाँ परम्परागत स्वाद र आधुनिक जीवनशैलीको सन्तुलित झल्को देख्न पाइनेछ।
मेलाको विशेष आकर्षणका रूपमा शनिबार ३५० रुपैयाँमै ‘ब्रन्च बुफे’ को व्यवस्था गरिएको छ। परिवार, साथीभाइ वा आफन्तसँग खुला वातावरणमा समय बिताउन चाहनेहरूका लागि यो अफर विशेष आकर्षण बन्ने अपेक्षा गरिएको छ।
यस मेलामा हस्तकलाका सामग्री, पछिल्लो फेसनका वस्तु, अर्गानिक उत्पादन र नयाँ स्टार्टअपहरूका विविध स्टलहरू रहनेछन्। यसले आगन्तुकहरूलाई एउटै स्थानमा किनमेल, स्वाद र मनोरञ्जनको अनुभव दिनेछ।
खाद्य पारखीहरूका लागि भने यो मेला अझ विशेष हुनेछ। नेवारी परिकारदेखि अन्तर्राष्ट्रिय खानासम्मको विविधता, स्ट्रिट फूड, गउरमेट डिश तथा मिठाइहरूको स्वाद लिन सकिनेछ। साथै, युरोपेली शैलीमा निर्माण गरिएको होटल परिसरमा फोटो खिच्दै रमाइलो गर्न सकिनेछ।
“घरभित्र मात्र सीमित नभई बाहिर निस्किएर रमाइलो गरौँ” भन्ने सन्देशसहित आयोजना हुन लागेको यो मेला बिहानदेखि साँझसम्म सञ्चालन हुनेछ।
प्रतिक्रिया