दि निलय होटल्स लिमिटेडको पहिलो साधारण सभा सम्पन्न, आईपीओ (IPO) जारी गर्ने प्रक्रिया अघि बढाउने निर्णय

आइतबार, १५ चैत्र २०८२, १६ : ५४

काठमाडौं- दि निलय होटल्स लिमिटेडको प्रथम वार्षिक साधारण सभा (AGM) धादिङ जिल्लाको थाक्रे गाउँपालिका–८ स्थित कम्पनीको कार्यालयमा सफलतापूर्वक सम्पन्न भएको छ। सभाले कम्पनीको भावी विस्तार र दीर्घकालीन विकासका लागि महत्वपूर्ण निर्णयहरू पारित गरेको छ।

साधारण सभाले आर्थिक वर्ष २०८१/८२ को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा–नोक्सान तथा नगद प्रवाह विवरण सर्वसम्मतिले पारित गरेको छ। साथै, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति र निजको पारिश्रमिक समेत निर्धारण गरिएको छ।

यस सभाको विशेष आकर्षणको रूपमा कम्पनीले शेयरको प्रारम्भिक सार्वजनिक निष्काशन (IPO) सम्बन्धी प्रक्रिया अघि बढाउने प्रस्ताव पारित गरेको छ। कम्पनीको भावी विस्तारका लागि आवश्यक पूँजी संकलन, ऋण व्यवस्थापन, रणनीतिक साझेदारी र आवश्यकता अनुसार अन्य कम्पनीहरूसँग मर्जर वा प्राप्ति (Acquisition) गर्ने जस्ता दूरगामी महत्वका प्रस्तावहरू समेत सभाले अनुमोदन गरेको छ।

सभालाई सम्बोधन गर्दै कम्पनीका अध्यक्षले होटलको स्थापनादेखि हालसम्मको प्रगति, वित्तीय अवस्था र आगामी रणनीतिक योजनाबारे विस्तृत जानकारी दिए   अध्यक्षले होटल निर्माण कार्यमा उल्लेखनीय प्रगति भएको बताउँदै छिट्टै सेवा सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । कम्पनीले 'चारतारे' स्तरको वर्गीकरण प्राप्त गर्ने लक्ष्यका साथ आवश्यक पूर्वाधार विकास गरिरहेको समेत उनले प्रष्ट पारे।      

नेपालको पर्यटन क्षेत्रमा उच्चस्तरीय आतिथ्य सेवा प्रदान गर्न प्रतिबद्ध दि निलय होटल्स लिमिटेडले स्थानीय रोजगारी सिर्जना र दिगो पर्यटन अभ्यासलाई प्रवर्द्धन गर्ने आफ्नो लक्ष्यलाई पुनः दोहोर्‍याएको छ। यस कार्यक्रमले धादिङको पर्यटन विकासमा समेत नयाँ इँटा थप्ने विश्वास लिइएको छ।

 
 
आइतबार, १५ चैत्र २०८२, १६ : ५४

प्रतिक्रिया