श्रम मन्त्रालयको चेतावनी: पारिश्रमिक र सुविधा अनिवार्य

सोमबार, २३ चैत्र २०८२, १६ : ०८

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रमिकलाई कानुनअनुसार न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा सुविधा अनिवार्य रूपमा उपलब्ध गराउन रोजगारदातालाई निर्देशन दिएको छ। मन्त्रालयले आज सोमबार प्रेस विज्ञप्ति जारी गर्दै यस्तो व्यवस्था कार्यान्वयनमा कडाइ गर्ने संकेत दिएको हो।

Notice-2_rzawe4Adkn

मन्त्रालयका अनुसार श्रम ऐन, २०७४ अनुसार काममा लगाइएका श्रमिकलाई न्यूनतम पारिश्रमिक, बिदा, बीमा, उपदान र सामाजिक सुरक्षालगायत सुविधा उपलब्ध गराउनु कानुनी दायित्व हो। तर विभिन्न अस्पताल, स्वास्थ्य संस्था, निजी तथा संस्थागत विद्यालयलगायत क्षेत्रमा कार्यरत श्रमिकले तोकिएको पारिश्रमिक र सुविधा नपाएको भन्दै गुनासो बढ्दै गएको मन्त्रालयले जनाएको छ।

यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै मन्त्रालयले सबै रोजगारदातालाई प्रचलित कानुनअनुसार न्यूनतम पारिश्रमिक तथा सामाजिक सुरक्षा सुविधा सुनिश्चित गर्न आग्रह गरेको छ।

यदि कसैले श्रमिकलाई तोकिएको पारिश्रमिक वा सुविधा नदिएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी पनि मन्त्रालयले दिएको छ। साथै, सम्बन्धित सबै संस्था र सरोकारवालालाई श्रम कानुनको पूर्ण पालना गर्न मन्त्रालयले अपिल गरेको छ।

 
 
सोमबार, २३ चैत्र २०८२, १६ : ०८

प्रतिक्रिया