नागढुंगा–सिस्नेखोला सुरुङमार्ग

नागढुंगा सुरुङमार्ग सञ्चालनको तयारी, सवारी साधन प्रवेशका लागि शुल्क निर्धारण

आइतबार, २९ चैत्र २०८२, १० : ३२

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्ग सञ्चालनको संघारमा पुगेको छ । धादिङ र काठमाडौंबीचको यात्रा सहज र छिटो बनाउने लक्ष्यसहित निर्माण गरिएको यो परियोजनाले देशको यातायात पूर्वाधारमा महत्वपूर्ण फड्को मार्ने अपेक्षा गरिएको छ ।

२०७६ कात्तिकमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेको यस आयोजनाको प्रारम्भिक लागत करिब २२ अर्ब रुपैयाँ अनुमान गरिएको थियो । तर निर्माणका क्रममा देखिएका भूगर्भीय जटिलता, डिजाइन हेरफेर तथा अन्य प्राविधिक कारणले लागत बढेर २७ अर्ब रुपैयाँ नाघेको छ ।

जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी कम्पनी हाजमा–आन्दो जेभीले निर्माणको जिम्मा लिएको थियो । सुरुमा ४२ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिए पनि विभिन्न चुनौतीका कारण समय लम्बिँदै अन्ततः २०८२ सालमा निर्माण कार्य सकिएको हो । हाल धादिङतर्फ पहिरो नियन्त्रण र टोल प्लाजा निर्माणको काम अन्तिम चरणमा पुगेको छ ।

सुरुङमार्ग सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी भने चिनियाँ कम्पनी संलग्न ज्वाइन्ट भेन्चर युक्सिन–एआरटीले पाएको छ । सडक विभागअन्तर्गतको परियोजना कार्यालयले पाँच वर्षका लागि करसहित एक अर्ब १० करोड रुपैयाँभन्दा बढीमा ठेक्का दिएको जनाएको छ ।

यसैबीच भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनका लागि शुल्क दर सार्वजनिक गरिसकेको छ । मन्त्रिपरिषद्को निर्णयअनुसार राजपत्रमा सूचना प्रकाशित गर्दै दर निर्धारण गरिएको हो ।

नयाँ व्यवस्था अनुसार हलुका सवारीसाधनले काठमाडौँ प्रवेश गर्दा ६५ रुपैयाँ र बाहिरिँदा ६० रुपैयाँ तिर्नुपर्नेछ । मिनिबस तथा मिनी टिपरका लागि क्रमशः ११५ र ८० रुपैयाँ तोकिएको छ । त्यस्तै बस तथा सिङ्गल रियर एक्सल ट्रकका लागि प्रवेशमा २६० र बाहिरिँदा २०० रुपैयाँ लाग्नेछ । मल्टि एक्सल ट्रक तथा भारी उपकरणका लागि भने ६०० रुपैयाँ (प्रवेश) र २५० रुपैयाँ (बाहिरिँदा) शुल्क निर्धारण गरिएको छ ।

 
 
आइतबार, २९ चैत्र २०८२, १० : ३२

प्रतिक्रिया