हाइब्रिड सवारीसाधनसम्बन्धी प्राविधिक तालिम सम्पन्न, विद्यार्थीको सीप अभिवृद्धि

आइतबार, ०६ बैशाख २०८३, १० : ४४

काठमाडौँ- नाडा अटोमोबाइल्स संघ नेपालको समन्वयमा हाइब्रिड सवारीसाधनको संरचना, सुरक्षा तथा मर्मतसम्भार सम्बन्धी प्राविधिक तालिम काठमाडौँमा सफलतापूर्वक सम्पन्न भएको छ ।

जापानी अटोमोबाइल कम्पनी टोयोटाको नेपालका लागि आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रा.लि.को प्राविधिक सहयोगमा काठमाडौँस्थित केन्द्रीय कार्यालयमा उक्त तालिम आयोजना गरिएको हो ।तालिममा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् अन्तर्गत बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका डिप्लोमा तह पाँचौँ सेमेस्टरका विद्यार्थी तथा ट्राफिक चालकसहित २५ भन्दा बढी सहभागीहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई हाइब्रिड सवारीसाधन प्रविधिसम्बन्धी विशेष प्राविधिक ज्ञान तथा व्यावहारिक सीप प्रदान गरिएको थियो ।

सहभागीहरूले यसअघि चैत्र महिनामा लक्ष्मी हुन्डाईमा आयोजित विद्युतीय सवारीसाधनसम्बन्धी तीन दिने तालिममा पनि सहभागिता जनाएका थिए। साथै, नाडा मोबिलिटी संवाद कार्यक्रममा सहभागी भई नीतिगत तथा प्राविधिक विषयमा थप जानकारी हासिल गरेका थिए ।

1N2A3193

कार्यक्रममा नाडाका कार्यकारी निर्देशक राजकुमार दुलालले यस्ता तालिमहरूले विद्यार्थीहरूको सीप तथा क्षमता अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । साथै, माग र उपलब्ध स्रोतका आधारमा आगामी दिनहरूमा यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए ।

त्यसैगरी, प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्का उपनिर्देशक खुशीराम अधिकारीले हाइब्रिड सवारीसाधनसम्बन्धी विषयलाई पाठ्यक्रममा समावेश गर्ने तयारी भइरहेको जानकारी दिए । नेपालको भौगोलिक अवस्थालाई ध्यानमा राख्दै यस्ता सवारीसाधनको सान्दर्भिकता बढ्दै गएको पनि उनले उल्लेख गरे ।

बालाजु इञ्जिनियरिङ तथा प्रविधि विद्यालयका उपप्राचार्य प्रदीप न्यौपानेले दक्ष जनशक्ति उत्पादनका लागि अटो उद्योग र प्राविधिक शिक्षाबीचको सहकार्यलाई अझ सुदृढ बनाउनुपर्ने धारणा राखे। उनले हालै सम्पन्न विद्युतीय सवारीसाधनसम्बन्धी तालिमले विद्यार्थीहरूलाई व्यावहारिक ज्ञान हासिल गर्न सहयोग पुगेको बताए ।

कार्यक्रमको समापन सत्रमा वैद्यज अर्गनाइजेशन अफ इन्डस्ट्रिज एण्ड ट्रेडिङ हाउसेजका निर्देशक सूर्यांश वैद्यले यस्ता व्यावहारिक तालिमहरूले सहभागीहरूको पेशागत विकासमा टेवा पु¥याउने र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे। उनले हाइब्रिड सवारीसाधनलाई उन्नत प्रविधिका रूपमा उल्लेख गर्दै यस क्षेत्रमा प्राविधिक ज्ञान र सीपको विकास अझ आवश्यक रहेको बताए ।

उक्त तालिममा हाइब्रिड सवारीसाधनसम्बन्धी प्रशिक्षण टोयोटाका प्राविधिक विज्ञहरूद्वारा प्रदान गरिएको थियो भने विद्युतीय सवारीसाधनसम्बन्धी तीन दिने तालिम लक्ष्मी हुन्डाईका प्राविधिक विशेषज्ञहरूद्वारा सञ्चालन गरिएको थियो ।

नाडाले आफ्ना प्राविधिक समिति तथा सचिवालयमार्फत क्षमता अभिवृद्धि र प्राविधिक संवादलाई प्राथमिकतामा राख्दै अटोमोबाइल तथा यातायात क्षेत्रको विकासका लागि यस्ता कार्यक्रमहरू सञ्चालन गर्दै आएको जनाएको छ ।

1N2A3431
 

 
आइतबार, ०६ बैशाख २०८३, १० : ४४

प्रतिक्रिया