काठमाडौं- नबिल बैंक लिमिटेड ले ग्राहकको गोपनीयता चुहावट गरेको भन्ने आरोपको कडा खण्डन गरेको छ। बैंकले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय सामाजिक सञ्जाल र केही सञ्चार माध्यममा फैलाइएको सूचना आधारहीन, भ्रामक र प्रमाणविहीन रहेको जनाएको हो।
बैंकका अनुसार यस्ता प्रचारले बैंकिङ प्रणालीप्रतिको जनविश्वास कमजोर बनाउने प्रयास गरेको देखिएको छ। मिति वैशाख ९ गते प्रकाशित एक समाचारलाई आधार बनाएर बैंकविरुद्ध नियोजित रूपमा दुष्प्रचार गरिएकोप्रति बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
वैशाख ९ गते कान्तिपुर दैनिकमा प्रकाशित “गृहमन्त्री गुरुङको कारोबारका तथ्य बाहिरिँदा बढ्दै गएका प्रश्नहरु” शीर्षकको समाचारमा स्पष्ट रूपमा कान्तिपुर दैनिकले “अनुसन्धानरत निकायबाट प्राप्त गरेका बैंकिङ कारोबारको विवरण ।” भनी उल्लेख गरेको छ। उक्त समाचारमा विभिन्न बैंक तथा वित्तीय संस्थाहरूमा विभिन्न मितिमा भएका कारोबारहरू प्रकाशित भएको तथ्यलाई नजरअन्दाज गर्दै केही व्यक्तिहरूद्वारा सामाजिक सञ्जालमार्फत बैंकविरुद्ध नियोजित रूपमा दुष्प्रचार गरिएकोप्रति बैंकको गम्भीर ध्यानाकर्षण भएको छ भनि विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा बैंकले स्पष्ट पारेको छ कि ग्राहकको व्यक्तिगत विवरण वा कारोबारसम्बन्धी सूचना ग्राहक स्वयं, आधिकारिक प्रतिनिधि वा कानुनी प्रक्रिया पूरा गरेका नियामक तथा अनुसन्धान निकाय बाहेक कसैलाई पनि उपलब्ध गराइँदैन र यसरी उपलब्ध गराइएको पनि छैन।
बैंकले आफ्ना सबै प्रणालीमा ग्राहकसम्बन्धी विवरण सुरक्षित रूपमा अभिलेख रहने र कसले, कहिले, कुन प्रयोजनका लागि सूचना हेरेको भन्ने सम्पूर्ण विवरण सुरक्षित रहने जनाएको छ। साथै, चार दशकभन्दा बढीको विश्वसनीय इतिहास बोकेको संस्थाले कुनै पनि अवस्थामा ग्राहकको गोपनीयता उल्लंघन नगर्ने प्रतिबद्धता दोहोर्याएको छ।
बैंकले तथ्यहीन दुष्प्रचार गर्ने व्यक्ति वा निकायलाई त्यस्तो कार्य नगर्न चेतावनी दिँदै आवश्यक परे विद्युतीय कारोबार ऐन २०६३ अनुसार कानुनी कारबाही अघि बढाइने जनाएको छ। साथै, ग्राहक तथा सरोकारवालालाई यस्ता अफवाहमा विश्वास नगर्न आग्रह गर्दै बैंकले भविष्यमा पनि सुरक्षित, विश्वसनीय र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध रहेको जनाएको छ।
प्रतिक्रिया