काठमाडौं- वरिष्ठ उद्योगपति तथा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष शेखर गोल्छासँग सम्बन्धित पछिल्लो घटनाक्रमप्रति नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) ले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नाइमाले यस्ता संवेदनशील विषयमा अघि बढ्दा सम्बन्धित व्यक्तिलाई आफ्नो पक्ष राख्ने तथा आवश्यक स्पष्टीकरण प्रस्तुत गर्ने पर्याप्त अवसर प्रदान गरिनुपर्नेमा जोड दिएको छ । संस्थाका अनुसार प्रक्रियागत स्पष्टता, सन्तुलन र विवेकपूर्ण निर्णयले मात्र समग्र प्रणालीप्रतिको विश्वास मजबुत बन्ने गर्दछ ।
नाइमाले उद्योग तथा व्यवसाय क्षेत्रले देशको अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउँदै आएको उल्लेख गर्दै रोजगारी सिर्जना, राजस्व संकलन र आर्थिक गतिविधिमा निजी क्षेत्रको भूमिका निर्णायक रहेको बताएको छ । यस्तो अवस्थामा निजी क्षेत्रको मनोबल उच्च राख्न र विश्वासको वातावरण कायम गर्न राज्यले सकारात्मक सन्देश दिनुपर्नेमा पनि जोड दिइएको छ ।
संस्थाले विधिको शासन, पारदर्शिता र निष्पक्षताको पक्षमा आफू प्रतिबद्ध रहेको स्पष्ट पार्दै तथ्यका आधारमा निष्पक्ष अनुसन्धान हुनुपर्ने र कानुन उल्लङ्घन गर्ने जो–कोहीमाथि आवश्यक कारबाही हुनुपर्ने धारणा व्यक्त गरेको छ ।
तर पर्याप्त प्रमाणबिना कुनै पनि व्यक्तिमाथि हतारमा निष्कर्ष निकाल्ने वा कठोर कदम चाल्ने कार्यले समग्र प्रणालीप्रतिको विश्वासमा नकारात्मक असर पार्न सक्ने भन्दै नाइमाले सम्बन्धित निकायहरूलाई संवेदनशीलता अपनाउन आग्रह गरेको छ ।
प्रतिक्रिया