नेपाल उद्योग वाणिज्य महासंघ

उद्योगीमाथि धरपकडप्रति निजी क्षेत्रको आपत्ति, कानुनी प्रक्रियाको माग

आइतबार, १३ बैशाख २०८३, १७ : ०५

काठमाडौं- उद्योगी व्यवसायीलाई अनुसन्धानका नाममा अनावश्यक रूपमा हिरासतमा राख्ने कार्यप्रति निजी क्षेत्रले गम्भीर आपत्ति जनाएको छ। यसले व्यवसायिक वातावरणमा नकारात्मक प्रभाव पार्दै निजी क्षेत्रको मनोबल कमजोर बनाएको ठहर गरिएको छ।

नेपाल उद्योग वाणिज्य महासंघसँग आबद्ध समूहका तर्फबाट आइतबार जारी प्रेस विज्ञप्तिमा महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छालगायत उद्योगीलाई नियन्त्रणमा लिइएको घटनाले निजी क्षेत्रमाथिको व्यवहारबारे गम्भीर प्रश्न उठाएको उल्लेख गरिएको छ। बिना निष्पक्ष छानबिन व्यक्तिलाई अपराधीसरह व्यवहार गर्नु विधिको शासनको मूल मर्मविपरीत भएको विज्ञप्तिमा जनाइएको छ।

विज्ञप्तिमा अनुसन्धान आवश्यक भए पनि त्यसलाई कानुनी प्रक्रिया, पारदर्शिता र व्यक्तिको गरिमाको सम्मान गर्दै अगाडि बढाउनुपर्नेमा जोड दिइएको छ। दोष प्रमाणित नभई कारबाही गर्नु न्यायोचित नहुने र अनुसन्धानकै नाममा प्रतिष्ठा हनन तथा मानसिक दबाब सिर्जना गर्ने कार्य अस्वीकार्य रहेको बताइएको छ।

निजी क्षेत्रले हालको चुनौतीपूर्ण आर्थिक अवस्थामा सरकार र व्यवसायीबीच विश्वास, सहकार्य र संवाद अपरिहार्य रहेको औंल्याएको छ। यस्ता घटनाले लगानी वातावरणमा असुरक्षा, अन्योल र भय सिर्जना गर्दै उद्यमशीलता र रोजगारीमा नकारात्मक असर पार्न सक्ने चेतावनी दिइएको छ। स्थायी सरकार गठनपछि लगानीमैत्री वातावरण बन्ने अपेक्षा गरिएको अवस्थामा यस्ता गतिविधिले नकारात्मक सन्देश प्रवाह गर्न सक्ने भन्दै सचेत रहन आग्रह गरिएको छ।

निजी क्षेत्रको सम्मान र सुरक्षित व्यावसायिक वातावरणबिना आर्थिक विकास सम्भव नहुने निष्कर्षसहित सम्बन्धित निकायलाई विषयप्रति गम्भीर बन्न आग्रह गरिएको छ। उक्त विज्ञप्ति नेपाल उद्योग वाणिज्य महासंघका बस्तुगत तर्फका उपाध्यक्ष उम्मेदवार नरेशलाल श्रेष्ठले जारी गरेका हुन्।

आइतबार, १३ बैशाख २०८३, १७ : ०५

प्रतिक्रिया