काठमाडौँ- नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) नेपालको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेको निजी क्षेत्रको व्यवसायिक हकहित र सुरक्षाप्रति सधैं प्रतिबद्ध छ । हालैका घटनाक्रम र हाम्रा पुर्व अध्यक्ष शेखर गोल्छाका सम्बन्धमा बाहिर आएका विषयहरू प्रति नाडा आफ्नो गम्भीर चासो र ध्यानाकर्षण प्रकट गर्दछ ।
शेखर गोल्छा नेपालको औद्योगिक एवं व्यवसायिक जगतका एक सम्मानित व्यक्तित्व हुन् । उनले नाडाको पनि सफल नेतृत्व मात्र गरेका छन् । उनले समग्र निजी क्षेत्रलाई नयाँ दिशा दिन र मुलुकको आर्थिक विकासमा अतुलनीय योगदान पुर्याएका छन् ।
यस्तो गरिमामय इतिहास बोकेको र देशकै ठूलो औद्योगिक घरानाको नेतृत्व गरिरेका व्यक्तित्व माथि गरिने कुनै पनि अन्यायपुर्ण व्यवहारले समग्र उद्योगी व्यवसायीहरूमा नकारात्मक सन्देश जाने हाम्रो ठम्याइ छ ।
सत्यतथ्य छानबिन हुनुपर्छ भन्ने कुरामा नाडा पुर्ण विश्वास राख्दछ । राज्यले गर्ने अनुसन्धान प्रक्रियामा निजी क्षेत्रले सधैं सहयोग गर्दै आएको छ र आगामी दिनमा पनि गर्नेछ । यद्यपि, अनुसन्धानका नाममा व्यवसायीहरूलाई हठात् पक्राउ गर्ने वा थुनामा राख्ने कार्यले लगानीकर्ताहरूको आत्मविश्वासलाई खलल पुर्याउँछ ।
निजी क्षेत्रलाई उत्साहित बनाउँदै लगानी भित्र्याउनु पर्ने समयमा प्रतिष्ठित व्यवसायीहरूमाथि हुने धरपकडले स्वदेशी तथा विदेशी लगानीकर्ताहरूमा त्रासको वातावरण सिर्जना गर्नेछ । यसले सरकारले अघि सारेको “लगानी मैत्री नेपाल” को नारालाई समेत कमजोर बनाउने देखिन्छ ।
अतः नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल, नेपाल सरकार र सम्बन्धित निकाय समक्ष शेखर गोल्छाको हकमा ‘पक्राउ नगरी छानबिन प्रक्रिया अघि बढाउन’ विनम्र अनुरोध गर्दछ । दोषी प्रमाणित नभएसम्म उनि जस्तो प्रतिष्ठित नागरिकको आत्मसम्मान र व्यवसायिक प्रतिष्ठाको रक्षा गर्नु राज्यको पनि दायित्व हो । अनुसन्धानमा उनले पुर्ण सहयोग गर्नेमा समेत हामी विश्वस्त छौँ ।
निजी क्षेत्रलाई सुरक्षित र सम्मानित महसुस गराउँदै मुलुकको आर्थिक समृद्धिको यात्रामा हातेमालो गर्न नाडा नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
प्रतिक्रिया