उत्साहित सेवाग्राही

प्रभावकारी बन्दै नबिल बैंकको कार्डरहित एटिएम सेवा : कसरी प्रयोग गर्ने ?

बुधबार, १६ बैशाख २०८३, १३ : २७

काठमाडौं- डिजिटल बैंकिङतर्फ अग्रसर हुँदै नबिल बैंकले सुरु गरेको “Cardless Withdrawal” सेवा प्रभावकारी बन्दै गएको छ । जसले ग्राहकलाई एटिएम कार्ड बिना नै नगद झिक्ने सुविधा प्रदान गरिरहेको छ । यस सेवामार्फत ग्राहकले मोबाइल बैंकिङ एप प्रयोग गरेर सहज रूपमा एटिएमबाट पैसा निकाल्दै आएका छन् ।

यस सेवाको मुख्य विशेषता भनेको सुरक्षा र सुविधा हो । ग्राहकले आफ्नो मोबाइल एपबाट रकम चयन गरी एक पटक प्रयोग हुने (One–Time) कोड प्राप्त गर्छन् । सो कोड एटिएम मेसिनमा प्रविष्ट गरेपछि नगद झिक्न सकिन्छ । यसले कार्ड हराउने, चोरी हुने वा दुरुपयोग हुने जोखिमलाई न्यून बनाउँछ । 

कार्डरहित सेवा विशेष गरी आपत्कालीन अवस्थाका लागि उपयोगी मानिएको छ । जस्तै, ग्राहकले कार्ड बिर्सिए वा साथमा नभएको अवस्थामा पनि उनीहरूले सजिलै नगद प्राप्त गर्न सक्छन् । साथै, परिवारका सदस्य वा अन्य व्यक्तिलाई रकम पठाउन पनि यो सेवा प्रभावकारी हुन सक्छ ।

विगत पाँच वर्षदेखि सो सेवा उपयोग गरिरहेका ललितपुरका संगम पहरीका अनुसार, बैंकको कार्डरहित सेवाले आवश्यक परेको समयमा रकम झिक्न सहज भएको बताउँछन् । उनी भन्छन्, “यस सेवाले पैसा झिक्नैका लागि भनेर बैंकमा घण्टै समय व्यतीत गर्नु पर्ने समस्याको समाधान मात्र भएको छैन यसले त आफू घरमै बसेर पनि अन्यत्र जिल्लामा भएको आफन्तलाई सोही स्थानको एटिएम पुगेर आफूले यताबाट ओटिपी कोड पठाएर आफ्नै हातले पैसा दिए जस्तै महसुस भएको छ । नबिल बैंकको यस सेवाबाट म पूर्ण रूपमा सन्तुष्ट रहँदै आएको छु ।”

त्यस्तै केही समय अघिदेखि नबिल बैंकको कार्डरहित एटिएम सेवा प्रयोग गर्न थालेका चितवनका श्याम वि.क. पनि सो सेवाबाट उत्साहित छन् । उनी भन्छन्, “कहिले कहिकतै घुम्न वा अन्य कामले अन्यत्र जाँदा एटिएम कार्ड घरमै छुट्ने गरेको हुन्छ । त्यस्तो अवस्थामा सोही स्थानबाटै आवश्यकता अनुसार रकम झिक्न सहज हुने गरेको छ ।”

डिजिटल प्रविधिको प्रयोग बढ्दै गएको सन्दर्भमा नबिल बैंकको यस्तो पहलले बैंकिङ सेवालाई अझ सहज, सुरक्षित र आधुनिक बनाएको बैंकका अधिकारीले बताएका छन् । हाल बैंकले देशभर सञ्चालनमा रहेको तीन सय १८ वटा एटिएमबाटै यस सेवा प्रदान गरिरहेको छ ।

कसरी प्रयोग गर्ने त कार्डरहित एटिएम सेवा ?

– सुरुवातमा नबिल बैंकको मोबाइल बैंकिङ एप खोल्नुहोस् ।

– एपमा दिइएको “Cardless Withdrawal” विकल्प छनोट गर्नुहोस् ।

– झिक्न चाहेको रकम प्रविष्ट गरेपछि खातामा राखिएको मोबाइल नम्बरमा आएको OTP वा Transaction Code प्राप्त हुनेछ । उक्त Code सुरक्षित राख्नुहोस् ।

– नजिकको नबिल बैंकको एटिएममा जानुहोस् ।

– एटिएमको दायाँमा रहेको “Cardless Withdrawal” विकल्प चयन गर्नुहोस् ।

– प्राप्त कोड र आवश्यक विवरण प्रविष्ट गर्नुहोस् ।

– माथि उल्लेख गरे बमोजिम झिक्न चाहेको रकम प्रविष्ट गर्नुहोस् ।

– प्रक्रिया पूरा गरेपछि एटिएमबाट नगद प्राप्त गर्न सक्नुहुनेछ ।

यो सेवा आपत्कालीन अवस्थामा निकै उपयोगी हुने गरेको छ । साथै, आफन्त वा साथीलाई कार्ड बिना नै रकम पठाउन पनि यो माध्यम प्रभावकारी देखिएको छ । डिजिटल बैंकिङतर्फ बढ्दो आकर्षणसँगै नबिल बैंकको यस्तो सेवा ग्राहकका लागि सहज र सुरक्षित विकल्पको रूपमा स्थापित हुँदै गएको छ ।

 
 
 
बुधबार, १६ बैशाख २०८३, १३ : २७

प्रतिक्रिया