काठमाडौं- अर्थमन्त्री डा.स्वर्णिम वाग्लेसमक्ष नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३र८४ को वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि मुलुकको आर्थिक तथा वित्तीय अवस्था सम्बन्धी समीक्षा प्रतिवेदन पेस गरेको छ ।
सोमबार अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रमका बीच राष्ट्र बैंकका गभर्नर डा. विश्व पौडेलले सो प्रतिवेदन अर्थमन्त्री वाग्लेलाई बुझाएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ६९ को दफा ४ मा नेपाल सरकारको वार्षिक बजेट तर्जुमा गर्ने प्रयोजनका लागि बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको सम्बन्धमा सरकार समक्ष प्रतिवेदन पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ ।
सोही प्रावधानअनुसार राष्ट्र बैंकले आगामी आर्थिक वर्षको पूर्ण बजेट निर्माणमा सहयोग पुग्ने गरी वर्तमान आर्थिक परिदृश्य, चुनौती र आगामी कार्यदिशा समेटिएको प्रतिवेदन बुझाएको हो । प्रतिवेदन ग्रहण गर्दै अर्थमन्त्री वाग्लेले राष्ट्र बैंकको सुझाव र वर्तमान आर्थिक अवस्थाको ठोस विश्लेषणले बजेट निर्माणमा महत्त्वपूर्ण मार्गनिर्देश गर्ने विश्वास व्यक्त गरेका हुन् ।
कार्यक्रममा अर्थ मन्त्रालय र राष्ट्र बैंकका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो । संसद् र बजेट निर्माणका अन्य प्राविधिक पक्षहरूमा समेत समन्वय गर्दै सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटलाई थप जनमुखी र यथार्थपरक बनाउने लक्ष्य लिएको छ ।
प्रतिक्रिया