विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ९४ अर्ब नाघ्यो, २१ महिनाभन्दा बढी आयात धान्न सक्ने

मंगलबार, २९ बैशाख २०८३, १३ : १७

काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार नेपालको कुल विदेशी विनिमय सञ्चिति उल्लेखनीय रूपमा बढेर ३४ खर्ब ९४ अर्ब ७३ करोड रुपैयाँ पुगेको छ ।

२०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड रहेको सञ्चिति चैत मसान्तसम्म आइपुग्दा ३०.५ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले जनाएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति १९ अर्ब ५० करोडबाट बढेर २३ अर्ब ५५ करोड पुगेको छ ।

राष्ट्र बैंकका अनुसार केन्द्रीय बैंकसँग रहेको विदेशी मुद्रा सञ्चिति २७.७ प्रतिशतले बढेर ३० खर्ब ८२ अर्ब ४१ करोड पुगेको छ भने बैंक तथा वित्तीय संस्थासँग रहेको सञ्चिति ५६.८ प्रतिशतले वृद्धि भएर ४ खर्ब १२ अर्ब ३२ करोड कायम भएको छ । कुल सञ्चितिमा भारतीय मुद्राको हिस्सा २०.४ प्रतिशत रहेको छ ।

सञ्चिति पर्याप्तता सूचकअनुसार हालको विदेशी मुद्रा सञ्चितिले २१.८ महिनाको वस्तु आयात तथा १८.४ महिनाको वस्तु र सेवा आयात धान्न सक्ने देखिएको छ ।

त्यस्तै, विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात ५७.२ प्रतिशत पुगेको छ, जुन अघिल्लो असार मसान्तमा ४३.८ प्रतिशत थियो ।

 
मंगलबार, २९ बैशाख २०८३, १३ : १७

प्रतिक्रिया