वाणिज्य बैंक

वाणिज्य बैंकहरूमा कर्मचारी खर्चको चाप बढ्दै, कुन बैंकले तलब सुविधामा कति खर्चियो ?

सोमबार, ०४ जेठ २०८३, १० : २५

काठमाडौं- नेपालका वाणिज्य बैंकहरूमा कर्मचारी तलब, भत्ता र सेवा सुविधाको खर्च अर्बौँ पुगेको छ। शाखा विस्तार, ग्राहक सेवा व्यवस्थापन, कर्जा अनुगमन तथा सञ्चालन खर्च बढ्दै जाँदा बैंकहरूको कर्मचारी व्यवस्थापन खर्च पनि उच्च दरमा बढेको देखिएको हो।

नेपाल राष्ट्र बैंकको चालु आर्थिक वर्ष २०८२÷८३ को चैतसम्मको तथ्यांकअनुसार सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी खर्चमा सबैभन्दा अगाडि देखिएको छ। बैंकले मात्रै ३ अर्ब ७१ करोड ४५ लाख ९० हजार रुपैयाँ कर्मचारी तलब तथा सुविधामा खर्च गरेको छ।

दोस्रो स्थानमा रहेको नबिल बैंकले ३ अर्ब २० करोड ५० लाख १० हजार रुपैयाँ खर्च गरेको छ भने ग्लोबल आइएमई बैंकको कर्मचारी खर्च ३ अर्ब ९ करोड ९० लाख रुपैयाँ पुगेको छ।

त्यसपछि नेपाल बैंक ले ३ अर्ब ४ करोड ३७ लाख रुपैयाँ र लक्ष्मी सनराइज बैंकले ३ अर्ब ३ करोड ७४ लाख ९० हजार रुपैयाँ कर्मचारी व्यवस्थापनमा खर्च गरेका छन्।

ठूला शाखा सञ्जाल र व्यापक सेवा संरचना भएका बैंकहरूको कर्मचारी खर्च पनि उच्च देखिएको छ। यता डिजिटल बैंकिङमा केन्द्रित तथा सीमित शाखा सञ्चालन गर्ने बैंकहरूको खर्च तुलनात्मक रूपमा कम रहेको तथ्यांकले देखाएको छ।

तथ्यांकअनुसार कुमारी बैंकले २ अर्ब ७८ करोड १७ लाख रुपैयाँ र कृषि विकास बैंकले २ अर्ब ७७ करोड ७९ लाख रुपैयाँ खर्च गरेका छन्। प्रभु बैंकको कर्मचारी खर्च २ अर्ब ६८ करोड ८१ लाख ५० हजार रुपैयाँ पुगेको छ।

यस्तै, हिमालयन बैंकले २ अर्ब ४७ करोड ७६ लाख ३० हजार रुपैयाँ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले २ अर्ब ४० करोड ६० लाख ७० हजार रुपैयाँ कर्मचारीमा खर्च गरेका छन्।

मध्यम समूहका बैंकहरूमध्ये एनआईसी एशिया बैंकको खर्च २ अर्ब २५ करोड ६ लाख रुपैयाँ रहेको छ भने सिद्धार्थ बैंक ले २ अर्ब १९ करोड ४२ लाख ४० हजार रुपैयाँ खर्च गरेको छ। एनएमबी बैंकको १ अर्ब ८९ करोड ३८ लाख रुपैयाँ  र माछापुच्छ्रे बैंकको कर्मचारी खर्च र १ अर्ब ७६ करोड ८२ लाख ६० हजार रुपैयाँ रहेको छ।

त्यसैगरी एभरेष्ट बैंक, सिटिजन्स बैंक इन्टरनेसनल र प्राइम कमर्सियल बैंकले पनि कर्मचारी व्यवस्थापनमा अर्बौँ रुपैयाँ खर्च गरेका छन्।

सबैभन्दा कम कर्मचारी खर्च गर्ने बैंकमा भने स्ट्यान्डर्ड चार्टर्ड बैंक देखिएको छ। बैंकले चैतसम्म ७७ करोड ६९ लाख २० हजार रुपैयाँ मात्रै कर्मचारी खर्च गरेको छ। त्यसपछि नेपाल एसबीआई बैंक र सानिमा बैंक रहेका छन्।

 
 
 
सोमबार, ०४ जेठ २०८३, १० : २५

प्रतिक्रिया