कोरला सडक स्तरोन्नति सुरु, जोमसोम–कागबेनी खण्ड सुधारमा ७ करोड खर्च

विहीबार, ०७ जेठ २०८३, १२ : ५६

मुस्ताङ- राष्ट्रिय गौरवको कालिगण्डकी करिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडक आयोजनाले जोमसोम–कागबेनी सडकखण्डको स्तरोन्नति सुरु गरेको छ । उत्तर–दक्षिण जोड्ने कोरला नाकातर्फको ९ किलोमिटर सडक सुधारका लागि करिब ७ करोड रुपैयाँ लागतमा काम अघि बढाइएको हो ।

आयोजनाका अनुसार विसं २०७६ अघि निर्माण सम्पन्न भएको जोमसोम–कोरला सडकखण्डमा वर्षा, पहिरो तथा आवश्यक संरक्षण संरचना अभावका कारण विभिन्न स्थानमा क्षति पुगेपछि स्तरोन्नतिको काम थालिएको हो । गत वर्षको साउनमा केही स्थानमा सडक भासिएको थियो भने ड्रेन, सडक बाल तथा संरक्षण संरचना नहुँदा सडक थप जोखिममा परेको थियो ।

कोरला सडक आयोजनाका प्रमुख तेजस्वी शर्माले कोरला नाका र मुक्तिनाथ जोड्ने जोमसोम–कागबेनी सडकलाई दीर्घकालीन र सुरक्षित बनाउन संरक्षण तथा स्तरोन्नतिको काम सुरु गरिएको जानकारी दिइन् । उनका अनुसार कालिमाता–थापाकाजी–रसुवा जेभी कन्ट्रक्सनले उक्त सडक स्तरोन्नतिको ठेक्का पाएको छ ।

निर्माण कम्पनीका स्थलगत इञ्चार्ज सिताराम थापाका अनुसार वैशाखमा ठेक्का सम्झौता भएको यो आयोजना जेठको पहिलो सातादेखि कार्यान्वयनमा गएको हो । चार महिनाभित्र काम सम्पन्न गर्ने लक्ष्यसहित भदौ १५ गतेसम्म निर्माण सक्नुपर्ने सम्झौता रहेको उनले बताए । हाल कागबेनीबाट सडक स्तरोन्नतिको काम सुरु गरिएको छ ।

आयोजना कार्यालयका अनुसार सडक स्तरोन्नतिअन्तर्गत १ हजार ८०० घनमिटर ग्याविन वाल, ३ हजार ५०० घनमिटर मेसिनरी वाल, २०० घनमिटर प्लम्प कङ्क्रिट तथा ९०० घनमिटर आरसिसी ढलान निर्माण गरिनेछ ।

जोमसोमबाट माथिल्लो क्षेत्रमा वर्षाले सडक भासिएको स्थानमा ग्याविन वाल निर्माण गरिनेछ भने पान्डाखोला पुल आसपास आरसिसी ढलान गरिने जनाइएको छ । साथै, ड्रेन र प्रोटेक्सन वाल नभएका क्षेत्रमा थप संरचना निर्माण गरेर सडकलाई सुरक्षित बनाइने निर्माण कम्पनीले जनाएको छ ।

 
विहीबार, ०७ जेठ २०८३, १२ : ५६

प्रतिक्रिया