काठमाडौं- नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई हरेक स्थानीय तहमा कम्तीमा एक शाखा अपांगमैत्री बनाउन निर्देशन दिएको छ ।
राष्ट्र बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाका लागि जारी एकीकृत निर्देशन संशोधन गर्दै ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति तथा अशिक्षित ग्राहकलाई सहज बैंकिङ सेवा उपलब्ध गराउन विशेष व्यवस्था गर्न भनेको हो ।
संशोधित व्यवस्थाअनुसार बैंकहरूले विशेष काउन्टरमार्फत प्राथमिकताका आधारमा सेवा दिनुपर्नेछ । साथै, बैंक तथा वित्तीय संस्थाले आपसी सहकार्यमा प्रत्येक स्थानीय तहमा कम्तीमा एक अपांगमैत्री शाखा सञ्चालन गर्नुपर्ने र त्यस्तो शाखाको विवरण आफ्ना वेबसाइटमा सार्वजनिक गर्नुपर्नेछ ।
राष्ट्र बैंकले एटीएम सेवामा पनि अपांगमैत्री सुविधा विस्तार गर्न निर्देशन दिएको छ । अब एटीएम लाउञ्ज भएका स्थानमा ब्रेल साइन, कन्ट्रोल बटन र अडिओ सपोर्टसहित कम्तीमा एक अपांगमैत्री एटीएम राख्नुपर्नेछ ।
यस्तै, दृष्टिविहीनमैत्री ट्याक्टाइल फिचर भएको डेबिट तथा क्रेडिट कार्ड जारी गर्नुपर्ने, वेबसाइट र मोबाइल बैंकिङ एपलाई दृष्टिसम्बन्धी अपांगता भएका व्यक्तिले समेत सहज प्रयोग गर्न सक्ने बनाइनुपर्ने व्यवस्था गरिएको छ ।
अपांगता भएका व्यक्तिले आफूले एटीएम, मोबाइल बैंकिङ वा इन्टरनेट बैंकिङ सेवा प्रयोग गर्न सक्ने स्वघोषणा गरेमा बैंकले त्यस्ता सेवा उपलब्ध गराउनुपर्ने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
यसैबीच, राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कर्मचारीलाई अतिरिक्त समयमा काम गराउँदा प्रचलित कानुनअनुसार अतिरिक्त पारिश्रमिक दिन निर्देशन दिएको छ । साथै, कार्यालय समयबाहेक जबर्जस्ती अतिरिक्त काममा लगाउन नपाइने व्यवस्था पनि गरिएको छ ।
प्रतिक्रिया