काठमाडौं- इन्दु शंकर चिनी उद्योग ले चालु क्रसिङ सिजन २०८२/०८३ मा खरिद गरिएको उखुको सम्पूर्ण रकम किसानलाई भुक्तानी गरेको जनाएको छ ।
उद्योगका प्रशासकीय प्रबन्धक ठाकुरप्रसाद नेपालका अनुसार यस सिजनमा ३२ लाख ९३ हजार १२३ क्विन्टल उखु क्रसिङ गरिएको थियो । उक्त उखुको कुल मूल्य दुई अर्ब २ करोड १८ लाख ६४ हजार रुपैयाँभन्दा बढी रहेको उनले बताए ।
“उद्योगले किसानलाई दिनुपर्ने सम्पूर्ण रकम भुक्तानी गरिसकेको छ,” नेपालले बताएका छन् । उद्योग गत पुस ७ गतेदेखि सञ्चालनमा आएको थियो भने चैतको तेस्रो सातासम्म क्रसिङ सम्पन्न गरेर बन्द गरिएको थियो ।
गत वर्षको तुलनामा यस वर्ष उद्योगले झण्डै दुई लाख क्विन्टल बढी उखु क्रसिङ गरेको छ । अघिल्लो वर्ष ३१ लाख क्विन्टलभन्दा बढी उखु प्रशोधन गरिएको थियो ।
उद्योगका क्यान म्यानेजर रजकका अनुसार यस वर्ष सर्लाही जिल्लाको मात्रै उखु क्रसिङ गरिएको हो । अघिल्ला वर्षहरूमा भने महोत्तरी, धनुषालगायत जिल्लाबाट पनि उखु ल्याइने गरिएको थियो ।
यस वर्ष सरकारले उखुको मूल्य प्रतिक्विन्टल ७० रुपैयाँ बढाएर ६९० रुपैयाँ कायम गरेपछि किसान उत्साहित भएका छन् । उद्योगले दिनुपर्ने प्रतिक्विन्टल ६२० रुपैयाँ भने किसानले पाइसकेका छन् ।
तर सरकारले अनुदानस्वरूप उपलब्ध गराउने भनिएको प्रतिक्विन्टल ७० रुपैयाँ भने किसानले अझै प्राप्त गर्न बाँकी रहेको जनाइएको छ ।
प्रतिक्रिया