अन्तर्राष्ट्रिय बजार मूल्य हेर्न मिल्ने नयाँ भन्सार प्रणाली सुरु

मंगलबार, १२ जेठ २०८३, १२ : ५७

काठमाडौं- भन्सार विभागले अन्तर्राष्ट्रिय बजार मूल्यसमेत हेर्न सकिने नयाँ भन्सार मूल्यांकन डाटाबेस प्रणालीको औपचारिक सुरुआत गरेको छ । विभागका अनुसार यस प्रणालीले पैठारी हुने वस्तुको कारोबार मूल्य निर्धारणमा भन्सार प्रशासनलाई प्रत्यक्ष सहयोग पुग्नेछ ।

सोमबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उक्त प्रणालीको औपचारिक शुभारम्भ गरेका हुन् । नयाँ प्रणाली कार्यान्वयनसँगै अन्तर्राष्ट्रिय व्यापार प्रक्रिया थप सहजीकरण हुने अपेक्षा गरिएको छ ।

कार्यक्रममा अर्थमन्त्री वाग्लेले प्रणालीले भन्सार मूल्यांकन प्रक्रियालाई अझ पारदर्शी, विश्वसनीय र यथार्थपरक बनाउने विश्वास व्यक्त गरे ।

भन्सार विभागका अनुसार २०८२ असोज ८ गते विराटनगर भन्सार कार्यालयबाट परीक्षणका रूपमा सुरु गरिएको यो प्रणाली २०८२ पुस १८ गतेदेखि आशिकुडा प्रणाली लागू भएका देशभरका सबै भन्सार कार्यालयमा विस्तार गरिएको थियो ।

विभागले प्रणालीको पूर्ण कार्यान्वयनले विश्व व्यापार संगठन (डब्ल्यूटीओ)को मूल्यांकनसम्बन्धी सम्झौता कार्यान्वयन गर्न तथा वस्तुको सही कारोबार मूल्य निर्धारणमा सहयोग पुग्ने जनाएको छ ।

 
मंगलबार, १२ जेठ २०८३, १२ : ५७

प्रतिक्रिया