काठमाडौं- नेपाल विद्युतीय व्यवसायी महासंघ को आयोजनामा विद्युत्, इलेक्ट्रोनिक्स, सञ्चार, सूचना प्रविधि तथा वैकल्पिक ऊर्जा क्षेत्रसँग सम्बन्धित अन्तर्राष्ट्रिय प्रदर्शनी ‘फिन इलेक्ट्रो–टेक २०२६’ आयोजना हुने भएको छ।
आयोजकका अनुसार प्रदर्शनी आगामी जेठ २२ गतेदेखि २५ गतेसम्म काठमाडौंस्थित भृकुटीमण्डप प्रदर्शनी हल मा सञ्चालन हुनेछ। चार दिनसम्म चल्ने उक्त प्रदर्शनीमा नेपालसहित विभिन्न देशका प्रतिष्ठित कम्पनी, उत्पादक, आयातकर्ता, वितरक तथा प्रविधि प्रदायक संस्थाको सहभागिता रहने जनाइएको छ।
नेपालमा जलविद्युत् उत्पादन, विद्युत् पहुँच विस्तार, औद्योगिक विकास तथा डिजिटल प्रविधिको प्रयोग तीव्र रूपमा बढ्दै गइरहेको सन्दर्भमा सुरक्षित, गुणस्तरीय र आधुनिक विद्युतीय सामग्रीको प्रयोगलाई प्रवर्द्धन गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गर्न लागिएको महासंघले जनाएको छ।
प्रदर्शनीमा ट्रान्समिसन तथा डिष्ट्रिब्युसन सामग्री, स्मार्ट ऊर्जा समाधान, औद्योगिक तथा घरेलु विद्युतीय उपकरण, वायर, केबुल, एलईडी लाइटिङ, स्मार्ट स्विच, सुरक्षा प्रणाली, सौर्य ऊर्जा, अटोमेसन प्रणाली, सूचना प्रविधि तथा अत्याधुनिक इलेक्ट्रोनिक्स सामग्री प्रदर्शन गरिनेछ।
आयोजकका अनुसार प्रदर्शनीले स्वदेशी विद्युतीय उद्योगको प्रवर्द्धन, विदेशी प्रविधि तथा लगानी आकर्षण, व्यवसायिक नेटवर्क विस्तार तथा अन्तर्राष्ट्रिय व्यापार सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ। साथै ऊर्जा, पूर्वाधार, स्मार्ट प्रविधि तथा दिगो विकाससँग सम्बन्धित नयाँ अवसर पहिचान गर्नसमेत सहयोग पुग्ने विश्वास गरिएको छ।
प्रदर्शनीमा सहभागी कम्पनीहरूका लागि नयाँ उत्पादन सार्वजनिक गर्ने, ब्राण्ड प्रवर्द्धन गर्ने, ग्राहक तथा वितरकसँग प्रत्यक्ष सम्पर्क विस्तार गर्ने अवसर रहनेछ। आयोजकले प्रदर्शनीका सम्पूर्ण स्टल बुक भइसकेको जानकारी दिएको छ।
कार्यक्रमको टाइटल स्पोन्सर ट्रान्सवेल्ड नेपाल प्रा. लि. रहेको छ भने पावर बाईमा ह्याभेल्स इन्डिया लिमिटेड रहेको छ। प्लेटिनम स्पोन्सरमा जनता केबल इन्डस्ट्रिज प्रा. लि., डायमण्ड स्पोन्सरमा लेजर इन्डिया प्राइभेट लिमिटेड र ग्रेटहाइट ग्लोबल प्रा. लि. रहेका छन्।
त्यस्तै गोल्ड स्पोन्सरमा एस.एम.सी. ग्लोबल प्रा. लि., अफिसियल बैंकमा नविल बैंक लिमिटेड, अफिसियल इन्स्योरेन्समा सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड तथा अफिसियल क्यारियरमा एस.के.बी ग्रुप रहेका छन्। प्रदर्शनी व्यवस्थापन मिडिया स्पेस ले गरिरहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्श लगायतका संस्थाको सहयोग रहने प्रदर्शनीमा उद्योगी, व्यवसायी, प्राविधिक, इन्जिनियर, आर्किटेक्ट, विद्यार्थी तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ।
प्रतिक्रिया