काठमाडौं- काठमाडौं महानगरपालिका सहकारी विभागको रोहवरमा बुद्ध दर्शन सेभिङ एन्ड क्रेडिट कोअपरेटिभ लिमिटेडले बचतकर्ताको रकम फिर्ता गर्न सुरु गरेको छ ।
काठमाडौं महानगरपालिका–६ मा सञ्चालित उक्त सहकारी संस्थाले पहिलो चरणमा एक लाख ५० हजार रुपैयाँसम्म बचत गरेका ७० जना बचतदाता सदस्यलाई रकम फिर्ता दिने प्रक्रिया अघि बढाएको सहकारी विभागले जनाएको छ । हालसम्म ३४ जना बचतकर्ताले आफ्नो बचत रकम फिर्ता पाइसकेका छन् ।
सहकारीले आगामी एक महिनाभित्र पाँच लाख रुपैयाँसम्म बचत गरेका बचतकर्ताको रकम समेत फिर्ता गर्ने योजना बनाएको जनाएको छ । बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा काठमाडौं महानगरपालिका सहकारी विभागले सहजीकरण गरिरहेको विभागका प्रमुख ध्रुवकुमार काफ्लेले जानकारी दिए ।
उनका अनुसार विभागले मागदाबी सहितको निवेदन संकलन गर्ने, सहकारी सञ्चालक र बचतकर्ताबीच छलफल तथा मिलापत्र गराउने काम गरिरहेको छ । साथै संस्थाको निर्णयअनुसार ऋणीलाई एसएमएस, रजिष्ट्री पत्र तथा सार्वजनिक सूचनामार्फत ऋण चुक्ता गर्न आग्रहसमेत गरिएको छ ।
वडास्तरको पहलबाट समस्या समाधान नभए विभागले थप सहजीकरण गर्ने जनाएको छ । सञ्चालक सम्पर्कमा आउन अटेर गरे कारबाहीका लागि सिफारिस गर्ने तथा ऋणीले ऋण नतिरे सम्बन्धित निकायमा कारबाहीका लागि पत्राचार गरिने विभागले जनाएको छ ।
विभागका अनुसार यही प्रक्रियामार्फत बचत रकम एकमुष्ट वा किस्ताबन्दीमा फिर्ता गर्ने काम भइरहेको छ । संस्था बन्द गरेर सम्पर्कविहीन हुने सञ्चालकको हकमा भने एसएमएस र पत्रमार्फत सूचना जारी गरी थप कारबाही प्रक्रिया अघि बढाइने बताइएको छ ।
प्रतिक्रिया