काठमाडौं- वीरगञ्ज भन्सार कार्यालय हुँदै चालु आर्थिक वर्षको १० महिनामा १ खर्ब ८१ अर्ब ७० करोड रुपैयाँ बराबरका पेट्रोलियम पदार्थ आयात भएका छन्।
यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६.३५ प्रतिशत अर्थात् २५ अर्ब ५३ करोड रुपैयाँले बढी हो। अघिल्लो वर्ष यही अवधिमा १ खर्ब ५६ अर्ब १७ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो।
भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार पेट्रोलियम पदार्थ आयातबाट मात्रै ६७ अर्ब १९ करोड रुपैयाँ राजस्व संकलन भएको छ।
चालु आवको १० महिनामा १ खर्ब ५७ करोड रुपैयाँ बराबरको ८ लाख ९५ हजार किलोलिटर डिजेल आयात भएको छ। यस्तै, ३५ अर्ब ७९ करोड रुपैयाँ बराबरको ३ लाख ९० हजार किलोलिटर पेट्रोल भित्रिएको छ।
एलपीजी ग्यास आयात भने घटेको छ। चालु आवमा २५ अर्ब ५४ करोड रुपैयाँ बराबरको २४ करोड २७ लाख किलोग्राम एलपीजी आयात भएको छ, जुन गत वर्षको तुलनामा कम हो।
प्रतिक्रिया