काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय का अनुसार सरकारको प्रभावकारी व्यवस्थापनसँगै देशभर सिँचाइयोग्य क्षेत्र विस्तार हुँदै गएको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रगति विवरणअनुसार संघीयस्तरका आयोजनामार्फत हाल १५ लाख ९० हजार ३८८ हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुगेको छ। तीमध्ये ५ लाख ३२ हजार ६५५ हेक्टर क्षेत्रमा वर्षभरि नै सिँचाइ सुविधा उपलब्ध रहेको छ।
मन्त्रालयका अनुसार भूमिगत सिँचाइ आयोजनाबाट १० लाख ३७ हजार ८४८ हेक्टर क्षेत्र सिञ्चित भएको छ भने लिफ्ट तथा जलाशय सिँचाइ कार्यक्रमबाट ६ हजार ८८ हेक्टर क्षेत्र विस्तार भएको छ।
यस्तै, ठूला तथा मझौला नदीमा १ हजार ५१८ किलोमिटर तटबन्ध निर्माण गरिएको छ। तटबन्धका कारण १३ हजार ८९१ हेक्टर जग्गा संरक्षण तथा उकास भएको मन्त्रालयले जनाएको छ।
नदी कटान, डुबान र पहिरो जोखिम व्यवस्थापनका लागि सरकारले चालु आवमा ५ अर्ब ५९ करोड रुपैयाँ विनियोजन गरेको छ। महाकाली, कर्णाली, नारायणी र कोशीलगायत नदीमा नदी नियन्त्रण कार्यक्रम सञ्चालन भइरहेको छ।
त्यस्तै, १९२ जलमापन केन्द्र र ३५५ मौसममापन केन्द्र सञ्चालनमा रहेका छन् भने विभिन्न ५३ स्थानमा पहिरो व्यवस्थापन कार्य जारी रहेको मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया