काठमाडौं- नेपाल भ्रमणमा आउने पर्यटकको संख्या बढे पनि उनीहरूको औसत दैनिक खर्च भने घटेको देखिएको छ। सरकारले सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार सन् २०२५ मा पर्यटकको दैनिक औसत खर्च १९ प्रतिशतले घटेको हो।
सर्वेक्षणअनुसार सन् २०२४ मा प्रतिपर्यटक दैनिक ४०.८४ अमेरिकी डलर खर्च हुने गरेकोमा सन् २०२५ मा यो घटेर ३३.०८ डलरमा झरेको छ।
नेपाल पर्यटन व्यवसायी संघका अध्यक्ष कुमारमणि थापलियाले पर्यटकले खुला रूपमा खर्च गर्ने वातावरण नेपालले बनाउन नसकेको बताए । उनका अनुसार महँगो हवाई टिकट र सीमित लक्जरी सेवाका कारण पर्यटकको खर्च क्षमता प्रभावित भइरहेको छ।
उनले पर्यटन क्षेत्रलाई समृद्ध बनाउन लक्जरियस प्याकेज, सुविधायुक्त सडक, गुणस्तरीय सेवा र ट्राभल शुल्क घटाउनुपर्ने आवश्यकता औँल्याए ।
आर्थिक सर्वेक्षणअनुसार सन् २०२५ मा नेपाल आउने पर्यटक संख्या १.३ प्रतिशतले बढेर ११ लाख ६२ हजार ३६५ पुगेको छ। पर्यटकको औसत बसाइ अवधि पनि १३.३० दिनबाट बढेर १६.३४ दिन पुगेको छ।
नेपाल भ्रमण गर्ने अधिकांश पर्यटक बिदा र मनोरञ्जनका लागि आउने गरेका छन्। तीर्थयात्रा, पदयात्रा तथा पर्वतारोहण प्रमुख आकर्षणका रूपमा रहेका छन्।
ठमेल पर्यटन विकास परिषद्का उपाध्यक्ष सहदेव धमलाले पर्यटकलाई आकर्षित गर्ने गुणस्तरीय किनमेल सामग्री र सेवा विस्तार गर्न राज्यले लगानी बढाउनुपर्ने बताए ।
प्रतिक्रिया