आर्थिक सर्वेक्षण २०८२

देशभर सहकारीको संख्या ३२ हजार नाघ्यो, १० खर्बभन्दा बढी बचत परिचालन

शुक्रबार, १५ जेठ २०८३, १३ : ५९

काठमाडौं- देशभर दर्ता भएका सहकारी संस्थाको संख्या ३२ हजार ३२५ पुगेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को आर्थिक सर्वेक्षणअनुसार २०८२ फागुन मसान्तसम्म उक्त संख्यामा सहकारी दर्ता भएका हुन् ।

सर्वेक्षणअनुसार सहकारी क्षेत्रमा १० खर्ब २९ अर्ब ५७ करोड रुपैयाँ बचत परिचालन भएको छ भने यस क्षेत्रबाट ८२ हजार २१६ जनाले प्रत्यक्ष रोजगारी प्राप्त गरेका छन् ।

सहकारीसम्बन्धी एकीकृत तथ्यांक व्यवस्थापनका लागि विकास गरिएको सहकारी तथा गरिबी सूचना व्यवस्थापन प्रणाली (कोपोमिस) मा फागुन मसान्तसम्म १९ हजार ९०३ सहकारी आबद्ध भएका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्म यस्तो संख्या १८ हजार ८९७ रहेको थियो । राष्ट्रिय सहकारी नियमन प्राधिकरणले हालसम्म ८३४ सहकारी संस्थालाई सञ्चालन इजाजतपत्र प्रदान गरेको आर्थिक सर्वेक्षणमा उल्लेख छ ।

संघीय सरकारले समस्याग्रस्त घोषणा गरेका २३ सहकारी संस्थामध्ये तीन संस्थाको व्यवस्थापन तथा दायित्व फर्छ्योट भइसकेको छ भने बाँकी २० संस्थाको सम्पत्ति व्यवस्थापन तथा दायित्व भुक्तानी प्रक्रिया जारी रहेको जनाइएको छ ।

सर्वेक्षणअनुसार हालसम्म विभिन्न चरणमा ८० हजार ८७ दाबीकर्ताले कुल रु ४७ अर्ब ६० करोड १३ लाख बराबरको माग दाबी दर्ता गरेका छन् । तीमध्ये तीन हजार ६८८ दाबीकर्तालाई पूर्ण रूपमा रु दुई अर्ब ५४ करोड ६८ लाख भुक्तानी गरिएको छ ।

त्यसैगरी, चालु आर्थिक वर्षको फागुनसम्म आठ हजार ७६३ दाबीकर्तालाई रु १२ करोड २३ लाख रकम फिर्ता गरिएको उल्लेख गरिएको छ ।

 
 
शुक्रबार, १५ जेठ २०८३, १३ : ५९

प्रतिक्रिया