काठमाडौं- बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन) ले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत आर्थिक पुनरुत्थान, निजी क्षेत्रको मनोबल अभिवृद्धि, लगानी प्रवर्द्धन तथा उत्पादनमुखी अर्थतन्त्र निर्माणका लागि अघि सारिएका नीतिगत तथा संरचनागत सुधारका पहलहरूको स्वागत गरेको छ।
सिबिफिनले शनिबार एक विज्ञप्ति जारी गर्दै विगत केही समयदेखि सुस्त अवस्थामा रहेको अर्थतन्त्र, निजी क्षेत्रको कमजोर आत्मविश्वास, लगानीकर्तामा देखिएको ‘पर्ख र हेर’ को प्रवृत्ति, अपेक्षाअनुसार कर्जा विस्तार हुन नसकेको अवस्था तथा बढ्दो खराब कर्जाको चुनौतीका बीच प्रस्तुत बजेटले आर्थिक गतिविधिलाई पुनः चलायमान बनाउने आशा र विश्वासको नयाँ आधार सिर्जना गरेको जनाएको छ।
परिसंघले विशेषगरी कर प्रणालीमा गरिएको सुधार, उद्योग–व्यवसायलाई प्रदान गरिएका सहुलियत, डिजिटल अर्थतन्त्रको प्रवर्द्धन, प्रविधि तथा पूर्वाधार विकासमा दिइएको प्राथमिकता, ऊर्जा क्षेत्रको विकासमा जोड तथा लगानीमैत्री वातावरण निर्माणका प्रयासलाई सकारात्मक रूपमा लिएको छ।
साथै बैंकिङ क्षेत्रमा चुनौतीपूर्ण बन्दै गएको खराब कर्जा तथा गैर–बैंकिङ सम्पत्तिको व्यवस्थापनका लागि विशेष अधिकारयुक्त राष्ट्रिय सम्पत्ति व्यवस्थापन कम्पनी स्थापना गर्ने सरकारको घोषणा दूरदर्शी, समयसापेक्ष र ऐतिहासिक कदम भएको सिबिफिनको ठहर छ।
सिबिफिनका अनुसार बजेटले निजी क्षेत्रलाई आर्थिक वृद्धिको प्रमुख साझेदारका रूपमा आत्मसात् गर्दै लगानी, उद्यमशीलता, नवप्रवर्तन तथा वित्तीय पहुँच विस्तारलाई प्राथमिकतामा राखेको स्पष्ट देखिएको छ। व्यक्तिगत आयकर छुटको सीमा वृद्धि, करका दरहरूको पुनरावलोकन, औद्योगिक कच्चा पदार्थमा भन्सार सहजीकरण तथा वैकल्पिक वित्तीय उपकरणमार्फत पूँजी परिचालनका व्यवस्थाले समग्र आर्थिक गतिविधिमा सकारात्मक ऊर्जा सञ्चार गर्ने विश्वास पनि परिसंघले व्यक्त गरेको छ।
बजेटले आन्तरिक तथा बाह्य लगानी विस्तार, उद्यमशीलताको विकास, रोजगारी सिर्जना, उत्पादन अभिवृद्धि तथा निजी क्षेत्रको पुनर्जागरणमार्फत अर्थतन्त्रलाई उच्च आर्थिक आत्मविश्वासतर्फ अग्रसर गराउने आधार निर्माण गरेको सिबिफिनको भनाइ छ।
साथै बजेटमा समेटिएका जनमुखी तथा विकासमुखी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनका लागि नीतिगत स्थायित्व कायम गर्दै निजी क्षेत्रसँगको सहकार्यलाई केन्द्रमा राख्न सरकारसँग आग्रह गरेको छ। आर्थिक पुनरुत्थान, वित्तीय क्षेत्रको स्थायित्व, लगानी विस्तार तथा दिगो आर्थिक वृद्धिका लागि सरकारसँग निकट सहकार्य गर्न आफूहरू पूर्ण रूपमा प्रतिबद्ध रहेको सिबिफिनले जनाएको छ।
प्रतिक्रिया