काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले देशसँग रहेको उच्च विदेशी मुद्रा सञ्चितिको केही हिस्सा दीर्घकालीन लगानीमा परिचालन गर्न ‘सोभरेन वेल्थ फन्ड’ (सार्वभौम सम्पत्ति कोष) स्थापना गर्ने अवधारणा अघि सारिएको बताएका छन्।
अर्थ मन्त्रालयले आयोजना गरेको बजेटपछिको पत्रकार सम्मेलनमा उनले हाल नेपालसँग १८ महिनाभन्दा बढीको आयात धान्न सक्ने विदेशी मुद्रा सञ्चिति रहेको तर त्यसको अधिकांश हिस्सा छोटो अवधिका तरल उपकरणमा राखिएकाले प्रतिफल ४ प्रतिशतभन्दा कम रहेको बताए।
“६–७ महिनाको आयात धान्ने सञ्चिति पर्याप्त मानिन्छ, तर हामीसँग त्योभन्दा धेरै सञ्चिति छ,” उनले भने, “त्यसैले केही हिस्सा उच्च प्रतिफल दिने दीर्घकालीन लगानीमा लैजाने सोच बनाइएको हो।”
गभर्नर पौडेलले बजेटमा उल्लेख भएअनुसार पेमेन्ट गेटवे सञ्चालन गर्ने योजना नरहेको स्पष्ट पार्दै राष्ट्र बैंकअन्तर्गत ‘फिनटेक मार्केटप्लेस’ सञ्चालनको अवधारणा अघि बढाइएको जानकारी दिए।
त्यस्तै, एसेट म्यानेजमेन्ट कम्पनी (एएमसी) स्थापना सम्बन्धी तयारी भइरहेको भए पनि यसको संरचनाबारे अन्तिम निर्णय हुन बाँकी रहेको उनले बताए।
प्रतिक्रिया