काठमाडौं- नेपाली बजारमा पछिल्लो एक महिनाको अवधिमा आलु र प्याजको मूल्य उल्लेख्य रूपमा बढेको छ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको मूल्यसूचीअनुसार १८ वैशाखको तुलनामा १८ जेठसम्म आइपुग्दा दुवै वस्तुको मूल्य उकालो लागेको हो।
तथ्यांकअनुसार सबैभन्दा धेरै मूल्यवृद्धि रातो आलुमा देखिएको छ। १८ वैशाखमा प्रतिकिलो औसत २४ रुपैयाँ ५० पैसा रहेको रातो आलुको मूल्य एक महिनापछि बढेर ३२ रुपैयाँ ५० पैसा पुगेको छ। यस अवधिमा रातो आलुको मूल्य ३२.६५ प्रतिशतले बढेको छ।
त्यसैगरी, दैनिक भान्सामा अत्यावश्यक मानिने भारतीय सुकेको प्याजको मूल्य पनि बढेको छ। १८ वैशाखमा प्रतिकिलो औसत ३८ रुपैयाँ ३८ पैसा रहेको प्याजको मूल्य १८ जेठमा ४१ रुपैयाँ ५० पैसा पुगेको छ। यसले एक महिनामा ८.१३ प्रतिशत मूल्यवृद्धि भएको देखाउँछ।
व्यापारीहरूका अनुसार आपूर्ति, ढुवानी लागत तथा मौसमी प्रभावका कारण आलु र प्याजको मूल्यमा वृद्धि भएको हुन सक्छ। मूल्यवृद्धिले उपभोक्ताको दैनिक खर्चमा थप दबाब सिर्जना गर्ने देखिएको छ।
प्रतिक्रिया