काठमाडौं- सरकारले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाका लागि आगामी आर्थिक वर्षमा २९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी बजेट विनियोजन गरेको छ।
अर्थ मन्त्रालयका अनुसार मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसीए) नेपाल अन्तर्गत कुल २९ अर्ब ३४ करोड ४४ लाख रुपैयाँ विनियोजन गरिएको हो। यसमध्ये नेपाल सरकारको स्रोतबाट ५ अर्ब ५५ करोड ७६ लाख रुपैयाँ र वैदेशिक अनुदानबाट २३ अर्ब ७८ करोड ६८ लाख रुपैयाँ खर्च हुने लक्ष्य राखिएको छ।
गत आर्थिक वर्ष २०८१/८२ मा यस परियोजनामा जम्मा २ अर्ब ३३ करोड ७३ लाख रुपैयाँ मात्र खर्च भएको थियो। चालु आर्थिक वर्ष २०८२/८३ मा संशोधित अनुमान अनुसार खर्च ७ अर्ब ४९ करोड १३ लाख रुपैयाँ पुग्ने देखिएको छ।
बजेट विवरणअनुसार एमसीसी अन्तर्गत चालु खर्च १ अर्ब ३४ करोड ६४ लाख रुपैयाँ र पूँजीगत खर्च २७ अर्ब ९९ करोड ८० लाख रुपैयाँ रहने अनुमान गरिएको छ। परियोजनालाई आगामी वर्षमा तीव्र गतिमा अघि बढाउने उद्देश्यसहित बजेट विनियोजन गरिएको अर्थ मन्त्रालयले जनाएको छ।
प्रतिक्रिया