आन्तरिक उत्पादनमा वृद्धि

दलहन आयात २२ प्रतिशतले गिरावट, वीरगञ्ज नाकाबाट भित्रियो ७ अर्ब ९७ करोडको सामान

मंगलबार, १९ जेठ २०८३, ११ : ४४

वीरगञ्ज- चालु आर्थिक वर्षको पहिलो १० महिनामा वीरगञ्ज नाका हुँदै करिब रु ७ अर्ब ९७ करोड बराबरको दलहन आयात भएको छ। भन्सार कार्यालयका अनुसार विभिन्न सात प्रकारका दलहन नेपाल भित्रिएका छन्।

गत आर्थिक वर्षको सोही अवधिमा यस नाकाबाट रु १० अर्ब २१ करोड बराबरको दलहन आयात भएको थियो। यस आधारमा चालु वर्षमा दलहन आयात करिब २२ प्रतिशतले घटेको देखिएको छ।

वीरगञ्ज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्ट का अनुसार सबैभन्दा बढी कमी मुसुरो दालको आयातमा देखिएको छ। चालु वर्षको १० महिनामा रु ३ अर्ब २० करोड बराबरको मुसुरो दाल आयात भएको छ, जबकि गत वर्ष सोही अवधिमा यसको आयात रु ४ अर्ब ५० करोड थियो।

त्यस्तै, सिमी तथा राजमाको आयात घटेर रु २ अर्ब ४ करोडमा सीमित भएको छ। गत वर्ष यो रकम रु २ अर्ब ७४ करोड थियो। चनाको आयात पनि घटेर रु १ अर्ब ९२ करोड पुगेको छ, जुन गत वर्ष रु २ अर्ब १७ करोड थियो।

अन्य गेडागुडीको आयात पनि सामान्य रूपमा घटेर चालु वर्षमा करिब रु ४२ करोडमा सीमित भएको छ। गत वर्ष यस शीर्षकमा रु ४५ करोड ८८ लाख बराबरको आयात भएको थियो।

भन्सार कार्यालयले आन्तरिक उत्पादनमा वृद्धि, मूल्यमा उतारचढाव तथा बजार मागमा आएको परिवर्तनलाई दलहन आयात घट्नुका सम्भावित कारणका रूपमा उल्लेख गरेको छ।

 
मंगलबार, १९ जेठ २०८३, ११ : ४४

प्रतिक्रिया