काठमाडौं- सशस्त्र प्रहरी बल नेपालले भन्सार छली भएको आशंकामा मुस्ताङको कोरोला नाकाबाट नेपाल भित्रिएका ७७४ वटा विद्युतीय सवारीसाधन नियन्त्रणमा लिएको छ।
सशस्त्र प्रहरी बलका प्रवक्ता विष्णुप्रसाद भट्टका अनुसार मुस्ताङको जोमसोम, पर्वतको कुस्मा र कास्कीको हेम्जा क्षेत्रमा गएराति विशेष सुरक्षा परिचालन गरी ती सवारी नियन्त्रणमा लिइएको हो। यसका साथै नुवाकोटको पासाङल्हामु सडकखण्डबाट थप दुई वटा सवारीसाधन पनि नियन्त्रणमा लिइएको उनले बताए।
गाडी नियन्त्रणका लागि सशस्त्र प्रहरी बल नेपाल नं. ३३ गुल्म मुस्ताङ, म्याग्दी गुल्म, नं. २५ चण्डिका गण पर्वत तथा नं. २४ कालिका गण कास्कीबाट सुरक्षाकर्मी परिचालन गरिएको थियो।
प्रवक्ता भट्टका अनुसार नियन्त्रणमा लिइएका अधिकांश सवारी BYD ब्रान्डका विद्युतीय गाडी हुन्। भन्सार छली भएको भन्ने उजुरी प्राप्त भएपछि निगरानी र गस्ती बढाइएको तथा सोही क्रममा गाडीहरू नियन्त्रणमा लिइएको उनले जानकारी दिए।
उनले कर छली भएको वा नभएको विषय तत्काल पुष्टि गर्न नसकिने स्पष्ट पार्दै अनुसन्धानपछि मात्र वास्तविक अवस्था खुल्ने बताए। “कर छली भएको हो वा होइन भन्ने विषय अनुसन्धानपछि मात्र थाहा हुन्छ। आवश्यक अनुसन्धानका लागि सम्बन्धित भन्सार तथा अन्य निकायलाई गाडी हस्तान्तरण गरिनेछ,” उनले भने।
प्राप्त जानकारीअनुसार जेठ ८ गतेदेखि १२ गतेसम्म नेपाल भित्रिएका गाडीहरू नियन्त्रणमा लिइएको हो। आगामी आर्थिक वर्षको बजेटमार्फत मध्यम तथा प्रिमियम श्रेणीका विद्युतीय सवारीमा कर वृद्धि गरिएपछि उक्त अवधिमा ठूलो संख्यामा गाडी आयात भएको विषयले पनि चासो बढाएको छ।
बजार स्रोतका अनुसार सम्बन्धित कम्पनीले सामान्यतया मासिक करिब २५० वटा सवारी आयात गर्ने गरेकोमा चार दिनको अवधिमा ७७४ वटा सवारी भित्रिएको देखिएको छ। यसले बजेटअघि आयात अस्वाभाविक रूपमा बढेको विषयमा विभिन्न कोणबाट अनुसन्धान आवश्यक रहेको सरोकारवालाहरूको भनाइ छ।
यद्यपि, बजेटसम्बन्धी सूचना चुहावट भएको वा कुनै निकायका कर्मचारीको संलग्नता रहेको विषय हालसम्म आधिकारिक रूपमा पुष्टि भएको छैन। सम्बन्धित निकायहरूले अनुसन्धानपछि मात्र यस्ता दाबीबारे निष्कर्ष निकाल्न सकिने बताएका छन्।
प्रतिक्रिया