लंका प्रिमियर लिग सिजन ६ मा नेपाली क्रिकेट प्रतिभालाई सशक्त अवसर

दिपेन्द्र सिंह ऐरी, सन्दीप लामिछाने र कुशल भुर्तेल एलपीएल २०२६ का लागि छनोट

विहीबार, २१ जेठ २०८३, १३ : १७

काठमाडौंं- नेपालले अन्तर्राष्ट्रिय क्रिकेटमा बनाउँदै गएको सशक्त उपस्थितिले लंका प्रिमियर लिग (एलपीएल) सिजन ६ मा पनि थप पहिचान पाउने भएको छ । प्रतियोगिताको २०२६ संस्करणका लागि विभिन्न फ्रेन्चाइजहरूले तीन नेपाली खेलाडीलाई आ–आफ्नो टोलीमा समावेश गरेका छन् ।

अलराउन्डर दिपेन्द्र सिंह ऐरीलाई एससी जाफना किंग्सले आफ्नो एसोसिएट स्टारका रूपमा अनुबन्ध गरेको छ । उत्कृष्ट ब्याटिङ, उपयोगी बलिङ तथा सशक्त फिल्डिङ क्षमताका कारण ऐरी लिगको सबैभन्दा लोकप्रिय फ्रेन्चाइजमध्ये एक जाफना किंग्सका लागि महत्वपूर्ण खेलाडी हुने अपेक्षा गरिएको छ । उनको छनोटले विश्व क्रिकेटका फ्रेन्चाइज प्रतियोगिताहरूमा नेपाली खेलाडीको बढ्दो प्रभावलाई प्रतिबिम्बित गर्दछ ।

Dipendra Singh Airee.jpg

एससी जाफना किंग्सले नेपालका लेग स्पिनर सन्दीप लामिछानेलाई पनि टोलीमा भित्राएको छ ।  अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालको परिचित नाम बनेका लामिछानेको विभिन्न फ्रेन्चाइज प्रतियोगितामा बटुलेको अनुभव तथा आक्रामक स्पिन बलिङ क्षमताले जाफनाको बलिङ आक्रमणलाई थप मजबुत बनाउने विश्वास गरिएको छ ।

त्यसैगरी, कोलम्बो क्याप्सले शीर्षक्रमका ब्याटर कुशल भुर्तेललाई आफ्नो एसोसिएट स्टारका रूपमा चयन गरेको छ । आक्रामक ब्याटिङ शैली र अन्तर्राष्ट्रिय अनुभवका कारण भुर्तेलले कोलम्बोलाई शीर्षक्रममा थप विकल्प प्रदान गर्नेछन् ।

दुई फरक फ्रेन्चाइजमा तीन नेपाली खेलाडीको छनोटले नेपाली क्रिकेट प्रतिभाप्रति बढ्दो सम्मान तथा लंका प्रिमियर लिगमा एसोसिएट राष्ट्रका खेलाडीहरूको विस्तार हुँदै गएको भूमिकालाई उजागर गरेको छ । यसले दक्षिण एसियाका समर्थकहरूसँग प्रतियोगिताको सम्बन्ध अझ बलियो बनाउँदै व्यापक दर्शक सहभागिताको अवसर पनि सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

Kushal Bhurtel.jpg

आईपीजीका संस्थापक तथा अध्यक्ष अनिल मोहनले भने, “नेपालको क्रिकेट समर्थकहरू अत्यन्त उत्साही छन्। एलपीएलमा नेपाली खेलाडीको सहभागिताले नेपाली बजारसँग अर्थपूर्ण सम्बन्ध स्थापित गर्छ । उनीहरूको छनोटले एलपीएललाई प्रतिस्पर्धात्मक तथा क्षेत्रीय रूपमा सान्दर्भिक टी–२० प्रतियोगिताका रूपमा विकास गर्ने हाम्रो उद्देश्यलाई थप बल पुर्याउँछ ।”

नेपालका खेलाडीहरूले टोलीमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षासहित एलपीएल सिजन ६ ले प्रतियोगिता अवधिभर नेपाली क्रिकेट समर्थकहरूको उल्लेखनीय चासो आकर्षित गर्ने अनुमान गरिएको छ ।
 

 
विहीबार, २१ जेठ २०८३, १३ : १७

प्रतिक्रिया