काठमाडौं- बजेटमार्फत बढाइएको सवारीसाधनको कर छल्न अनधिकृत रूपमा भन्सार जाँचपास गराएको आशंकामा रसुवा भन्सार कार्यालयका प्रमुख तुलसी भट्टराईसहित ६ जना कर्मचारीलाई भन्सार विभागमा तानिएको छ।
अर्थ मन्त्रालयका अनुसार सवारीसाधन नेपाल भित्रिनुअघि नै पुरानै करदरमा भन्सार जाँचपास गरिएको भन्ने सूचनाका आधारमा उनीहरूमाथि छानबिन सुरु गरिएको हो।
यसैबीच, मुस्ताङको कोरोला नाकाबाट भित्रिएका झण्डै ७७४ सवारीसाधन नियन्त्रणमा लिइएको घटनाको अनुसन्धान गर्न भन्सार विभागले भुपालराज शाक्यको संयोजकत्वमा अन्तरनिकायगत छानबिन समिति गठन गरेको छ।
समितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी लगायतका निकायका प्रतिनिधि सहभागी छन्। भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार समिति फिल्डमा खटिइसकेको छ।
सरकारले जेठ १५ गतेको बजेटमार्फत महँगा सवारीसाधनमा लाग्ने कर वृद्धि गरेपछि पुरानै दरमा भन्सार जाँचपास गराई राजस्व छली गरिएको हो कि भन्ने विषयमा अनुसन्धान भइरहेको छ।
प्रतिक्रिया